लुम्बिनीमा बल्ल पायो सरकारले पूर्णता, यी थपिए मन्त्री

लुम्बिनीमा बल्ल पायो सरकारले पूर्णता, यी थपिए मन्त्री



बुटवल । लुम्बिनीमा नयाँ सरकार बनेको दुई महिना पुग्नै लाग्दा सरकारले आइतबार पूर्णता पाएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रीमण्डल विस्तार गरी १७ सदस्यीय बनाएका छन्, जसमा मुख्यमन्त्रीसहित १३ मन्त्री र चार राज्यमन्त्री छन् ।

नवनियुक्त मन्त्रीहरूलाई आइतबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराएका छन् भने राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री कुलप्रसाद केसीले शपथ गराएका छन् ।

आइतबार कांग्रेसबाट तीन मन्त्री र दुई राज्यमन्त्री, माओवादी केन्द्रबाट दुई मन्त्री र दुई राज्यमन्त्री तथा एकीकृत समाजवादीबाट एक जना मन्त्री थपिएका छन् । यसअघि प्रदेश सरकार सात सदस्यीय रहेको थियो ।

यी हुन् थपिएका मन्त्रीहरू
आइतबार थपिएका मन्त्रीहरूमा कांग्रेसबाट पाल्पाका वीरबहादुर राना ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, बाँकेका सुरेन्द्रबहादुर हमाल वन, वातावरण तथा भूसंरक्षणमन्त्री र रूपन्देहीका वसिउद्दिन खाँ शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री छन् ।

त्यस्तै, राज्यमन्त्रीमा कांग्रेसबाट दाङका अर्जुनकुमार श्रेष्ठ र कपिलवस्तुकी रीना नेपाल विक रहेका छन् । श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री र रीना पर्यटन, ग्रामीण तथा शहरी विकास राज्यमन्त्री हुन् ।

माओवादीबाट बर्दियाका तिलकराम शर्मा आन्तरिक मामिला तथा संचार, दाङका इन्द्रजीत थारू स्वस्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री रहेका छन् भने दाङकी विमला कुमारी खत्री स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री र कपिलवस्तुकी सुष्मा यादव कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री हुन् । एकीकृत समाजवादीबाट पाल्पाकी रमा घर्ती कानुन, महिला, बाालबालिका तथा जेष्ठ नागरिकमन्त्री भइन् ।

लुम्बिनीमा गत २८ साउनमा नयाँ सरकार बनेको हो ।