मुख्यमन्त्री शाक्यद्वारा विश्वासको मत लिने प्रस्ताव पेस, बैठक १२ दिनका लागि स्थगित

मुख्यमन्त्री शाक्यद्वारा विश्वासको मत लिने प्रस्ताव पेस, बैठक १२ दिनका लागि स्थगित



हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभाको बैठकमा टेबल गरेकी छन् । आइतबारको बैठकमा उनले प्रस्ताव टेबल गरेकी हुन् । तर प्रस्तावमा छलफल र मतदान नगरी प्रदेशसभा बैठक कात्तिक ४ गतेसम्मका लागि स्थगित भएको छ ।

मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक प्रावधान छ । सोही प्रावधानअनुसार विश्वासको मतको प्रस्ताव पेस गरेको शाक्यले बताइन् । मुख्यमन्त्री शाक्यले विश्वासको मत माग्ने प्रस्ताव पेस गरेपछि प्रदेश सभाको बैठक कात्तिक ४ गतेसम्मका लागि स्थगित गरिएको छ ।

बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि नेकपा एमाले बागमती प्रदेश संसदीय दलकी नेता शाक्य मुख्यमन्त्री भएकी थिइन् । प्रदेशसमा एमालेको स्पष्ट बहुमत हुँदा मुख्यमन्त्री बनेकी शाक्य एमाले विभाजनपछि अल्पमतमा परेकी थिइन् ।