नेपाललाई हराउँदै भारत आठौं पटक च्याम्पियन

नेपाललाई हराउँदै भारत आठौं पटक च्याम्पियन



काठमाडौं । भारतले १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । माल्दिभ्समा शनिबार भएको फाइनलमा नेपाललाई ३-० गोल अन्तरले पराजित गर्दै भारत च्याम्पियन बनेको हो ।

भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुलले समान एक एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको भारतले ४९ औं मिनेटमा सुनिलको गोलबाट अग्रता बनाएको थियो । यस संस्करणमा सुनिलको यो पाँचौं गोल हो । खेलको ५० औं मिनेटमा सुरेशले गोल गर्दै भारतलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा साहलले गोल गर्दै भारतलाई ३-० को जित दिलाए। यससँगै भारतले कीर्तिमानी आठौं पटक साफको उपाधि जित्न सफल भएको छ । नेपालको भने पहिलो पटक साफको उपाधि जित्ने सपना चकनाचुर भएको छ ।

तर, नेपाल पहिलो पटक सफामा उपविजेता बनेको छ । नेपालले पहिलो पटक साफको फाइनल खेलेको हो । पाँच राष्ट्र सहभागी प्रतियोगितामा भारत लिगको शीर्ष स्थानमा रहदै फाइनल खेलेको हो । नेपाल राउण्ड रोबिन लिगको दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो ।