रोकिएका कांग्रेस जिल्ला अधिवेशन छठपछि हुन्छः सह-महामन्त्री डा. महत

रोकिएका कांग्रेस जिल्ला अधिवेशन छठपछि हुन्छः सह-महामन्त्री डा. महत



चितवन । नेपाली कांग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गतका रोकिएका जिल्ला अधिवेशनहरु छठपछि सुरु गरिने बताएका छन् ।

उनले जिल्लाको सदस्यताको विवाद तिहार अघि नै समाधान हुने बताए । उनले भने– ‘विभिन्न कारणले रोकिएका जिल्ला अधिवेशनहरु छठपछि हुन्छ र तिहारअघि सबै जिल्लाको सदस्यतासम्बन्धी विवाद समाधान भइसक्छ ।’

सहमहामन्त्री डा. महतले स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचनमा नेपाली कांग्रेसले नै बहुमत प्राप्त गर्ने गरी पार्टी अघि बढ्ने बताए । उनले भने, ‘अब कांग्रेस एकल बहुमत प्राप्त गर्ने गरी अघि बढ्छ, पार्टीको आगामी महाधिवेशनमा पार्टी एक ढिक्का हुन्छ र यसले आगामी सबै तहका निर्वाचनमा पार्टीमा बहुमत हासिल गर्न पूरा सहयोग पुग्छ ।’

पार्टीलाई महाधिवेशन केन्द्रीत मात्रै नभएर तीन तहको निर्वाचन केन्द्रीत भएर अघि बढाउने उनको भनाइ थियो । गठबन्धनको सरकार सञ्चालन गर्न सहज नभएको भन्दै उहाँले सबैलाई मिलाएर अघि बढ्ने बताए ।

सरकारको एक सय दिन सफल रहेको भन्दै उनले सरकारले अरु धेरै कामका अतिरिक्त चार वटा महत्वपूर्ण काम गरेको बताए । उनले भने ‘सरकार गठन भएपछि जनतालाई कोभिड विरुद्धको खोप, पराराष्ट्र नीति, भ्रष्टाचार नियन्त्रण र संवैधानिक आयोगमाथिको हस्तक्षेप रोकिएको छ ।’

वर्षाका कारण भएको क्षतिको व्यवस्थापनमा सरकार लाग्नुपर्ने बताउँदै उनले उचित राहतको व्यवस्था गर्नुपर्छ भने । उनले हालैको बाढीपहिराका साथै चाडपर्वको समयमा भएका दुर्घटनाका मृतक र घाइतेलाई उचित क्षतिपूर्ति दिन आफूले प्रधानमन्त्रीलाई आजै भेटेर आग्रह गरेको पनि बताए ।