एमाले स्थायी कमिटी बैठक बस्दै, १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्ने

एमाले स्थायी कमिटी बैठक बस्दै, १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्ने



काठमाडौं, ५ कार्तिक । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो २ बजेदेखि बैठक सुरु हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

आजको बैठकमा १० बुँदे सहमति र यसको कार्यान्वयनका विषयमा संयोजक भीम रावलले तयार पारेको प्रतिवेदन पेश गर्ने र त्यसमाथि छलफल गर्ने कार्यतालिका तय भएको तामाङले बताए ।

आगामी महाधिवेशनको व्यवस्थापनका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । रावलको नेतृत्वमा महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, शंकर पोखरेल र लेखराज भट्ट छन् ।

माधव नेपालको साथ छाडेर एमालेमै बसेका १० नेताले १० बुँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाए पनि एमाले प्रवक्ता प्रदीप ज्ञवाली भने अस्वीकार गर्छन्। उनले एमालेले १० बुँदे सहमति ९७ प्रतिशतभन्दा बढी कार्यान्वयन भइसकेको दाबी गरेका छन् ।

हिजोको बैठकमा केही नेताले १० बुँदेलाई लिएर अध्यक्ष केपी ओलीले पछिल्ला सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति प्रश्न उठाएका थिए । बागमती प्रदेश आयोजक कमिटीको बैठकमा गत बुधबार अध्यक्ष ओलीले माधव नेपालले पार्टी नफुटाउन भनेर मात्र १० बुँदे सहमति गरिएको भन्दै अब त्यसको एकतारे बजाइरहनुको अर्थ नभएको टिप्पणी गरेका थिए ।