कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बन्दै

कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बन्दै



काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बन्दै गएको छ । पटकपटक गरी पाँचपटक अधिवेशनको कार्यतालिका हेरफेर गरिसकेको कांग्रेसले फेरि पनि महाधिवेशनको घोषित कार्यतालिकालाई धकेल्ने तयारी गरेको बुझिएको छ ।

तर, महाधिवेशन कहिले गर्ने भन्ने विषयमा कांग्रेसभित्र औपचारिक छलफल भने शुरु हुन सकेको छैन । कांग्रेसले यसअघि गत साउनमा मंसिर ९ देखि १३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

अब मंसिरका लागि तय महाधिवेशन माघमा गर्ने विषयमा सभापति शेरबहादुर देउवा निकटका नेताहरूले आन्तरिक छलफल चलाएका छन् । उनीहरूले आगामी स्थानीय तहको निर्वाचनपछि मात्रै महाधिवेशन गर्ने विषयलाई पनि अघि सार्ने भएका छन् ।

महाधिवेशन अझैं लम्ब्याउँदै जाने पक्षमा कांग्रेसभित्रको संस्थापनइतर समूह भने तयार देखिएको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला भने तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने भन्दै संस्थापन समूहलाई दबाव दिँदै आएका छन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको विधान र देशको संविधानअनुसार महाधिवेशन गर्न नसक्दा कांग्रेसको वर्तमान केन्द्रीय समितिले वैधानिकता गुमाइसकेको बताए ।

हिजो कैलालीको धनगढीमा आयोजित कार्यक्रममा पौडेलले कांग्रेस पार्टी निर्वाचन आयोगको निगाहामा बाँचेको बताए । निर्धारित मितिमा अधिवेशन हुन नसक्दा प्रदेश अधिवेशनका लागि तय मितिसमेत अब प्रभावित हुने भएको छ ।

कांग्रेसले प्रदेश तहको अधिवेशन कात्तिक १० देखि १२ गते सम्मका लागि तय गरेको छ । यस्तै, १३ जिल्लामा अझै पनि वडा अधिवेशन हुन सकेको छैन । रसुवा, रौतहट र बारा अझै पनि क्रियाशील सदस्यताको नामावली सार्वजनिक भएको छैन ।