१९ वर्षीया युवतीले धान्नेछन् एमाले वडा राजनीति

१९ वर्षीया युवतीले धान्नेछन् एमाले वडा राजनीति



बुटवल । एमालेको वडा अधिवेशनबाट युवापंक्तिले नेतृत्वमा स्थान जमाएका छन् । सिद्धार्थनगरको एउटा वडामा २४ वर्षीय युवक वडाध्यक्ष चुनिएका छन् भने लुम्बिनी सांस्कृतिक नगरपालिकामा १९ वर्षीया युवती वडा कमिटी सचिव चुनिएर चर्चामा छिन् ।

सिद्धार्थनगर नगरपालिका–१३ वडाको अधिवेशनबाट २४ वर्षीय भीम भण्डारी अध्यक्षमा चुनिएका हुन् । नगरका १३ वटा वडाका अध्यक्षमध्ये उनी नै सबै भन्दा कान्छा हुन् ।

त्यस्तै रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ बाट १९ वर्षीया झरना थापा वडा सचिव चुनिएर चर्चामा छिन् । अध्ययनसँगै राजनीति थालेकी उनले अब अध्ययनसँगै राजनीतिलाई पनि अगाडि बढाउने बताइन् ।

‘अब देशको राजनीति हामी जस्ता युवाले सम्हाल्नुपर्छ, मैले पढाइ र राजनीतिलाई एकसाथ अघि बढाउने सोच बनाएकी छु,’ उनले भनिन् । विद्यालय तहबाट राजनीतिमा लागेकी झरना निर्विरोध वडा सचिवमा चुनिएकी हुन् ।