मुख्यमन्त्री शाक्यले आजै राजीनामा दिने

मुख्यमन्त्री शाक्यले आजै राजीनामा दिने



काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आजै पदबाट राजीनामा दिने भएकी छन् । शाक्यले विश्वासको गत असोज २४ गते विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गर्दा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नबारे आज प्रदेशसभामा उत्तर दिएपछि राजीनामा घोषणा गर्ने तयारी रहेको नेकपा एमाले प्रदेशसभा सदस्य अरुण नेपालले जानकारी दिए ।

यसपछि प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनापत्रमा बुझाउने उनले बताए । आज बस्ने प्रदेशसभामा मुख्यमन्त्री शाक्यको विश्वासको मत विभाजन हुने कार्यतालिका थियो। मतदानको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको र अधिकृतसहितका कर्मचारी खटाइने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी) का संसदीय दल नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अगाडि बनाउने निर्णय गरिसकेको छ। बागमतीमा एकीकृत समाजवादी र नेपाली काँग्रेसले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति पनि भएको छ ।

मुख्यमन्त्री शाक्य भदौ २ मा नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन्। नेकपा एमालेका १३ सांसद एकीकृत समाजवादीतिर लागेपछि शाक्य अल्पमतमा परेकी हुन् ।

मुख्यमन्त्री शाक्यसँग हाल सभामुखसहित ४३ जना सांसद छन् । प्रदेश सभामा एमालेका ४३‚ माओवादी केन्द्रका २३, काँग्रेसका २२, एकीकृत समाजवादीका १३‚ विवेकशील साझा पार्टीका ३‚ नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई दुई तथा जनता समाजवादी पार्टीका १ सांसद छन्। विश्वासको मत पाउन ५५ सांसदको समर्थन चाहिन्छ ।