दाहालले भने– चितवनबाट कांग्रेसले मलाई र रेणुलाई लखेट्न खोज्दैछन्

दाहालले भने– चितवनबाट कांग्रेसले मलाई र रेणुलाई लखेट्न खोज्दैछन्



चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका बाबुछोरीले चितवन कांग्रेसका नेता–कार्यकर्तामाथि आक्रोश पोखेका छन् । चितवनमा गरिएको कार्यक्रममा दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई आफूले प्रधानमन्त्री बनाएको तर बदलामा चितवन कांग्रेस कार्यकर्ताहरु आफू र छोरी रेणुविरुद्धमा लागिरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

चुनावी परिणामले कांग्रेस र माओवादी हाराहारी भए पनि देउवालाई प्रधानमन्त्री बनाउँदा कांग्रेस कार्यकर्ता खुशी हुनुपर्नेमा चितवनबाट आफू र रेणुलाई लखेट्ने भाषण कांग्रेस चितवनका सभापतिले गर्नु विडम्बनापूर्ण भएको टिप्पणी उनको थियो ।

आफूहरुलाई धन्यवाद दिनुपर्नेमा उल्टो भएको भन्दै दाहालले थपे, ‘जित्न त चुनावमा कांग्रेसले भन्दा हामीले धेरै जितेका थियौं तर पनि शेरबहादुरजीलाई प्रधानमन्त्री बनायौं । मैले सोचेको थिएँ कम्तीमा चितवन जिल्लाका कांग्रेस नेता कार्यकर्ता खुशी भएका होलान् । उनीहरूले प्रचण्डलाई, माओवादीलाई धन्यवाद भन्लान् भन्ने ठानेको त माओवादी, प्रचण्ड र रेणुलाई लखेट्ने भनेर यहाँका सभापति भन्नेहरूले बोले । तपाईंहरूले सुन्नुभयो । यो त बडो विडम्बनाको कुरा भयो ।’

अर्को प्रसंगमा अध्यक्ष दाहालले एमाले अध्यक्ष केपी ओलीलाई प्रचण्ड भाग्छ भनेर आत्मरतिमा नरमाउन चेतावनी दिँदै भने, ‘मलाई काठमाडौंमा भनिएको छ, एमालेको महाधिवेशन चितवनमा हुने भएपछि अब प्रचण्ड भाग्छ र कालीकोट जान्छ कि बर्दिया जान्छ भन्ने भित्रभित्रै प्रचार गरे । मैले अस्ति यहाँ आएर भनिसकेको छु, म कतै जान्न अब । म चितवन छोड्दिन । पहिलो कुरा कुनै भ्रम नरहोस् र त्यो आत्मघाती या आत्मरति पनि केपी ओलीहरूले नगरे हुन्छ । म भाग्ने मान्छे हुँदै होइन । त्यो कुरा ओलीजीहरूलाई राम्रोसँग थाहा छ । त्यही भएर त मलाई खोज्दैखोज्दै आएको छ चितवन ।’

उनले आउँदो चुनावमा नेकपा एमालेको पकड देखिएको ठाउँमा नेपाली कांग्रेससँग गठबन्धन हुने भन्दै कांग्रेससँग सिट तालमेल गर्न केन्द्रीय तहमा समझदारी नै बनिसकेको दावी गरे । आफूहरुको साथमा मोहन वैद्य र नेत्रविक्रम चन्दलाई पनि ल्याइने भन्दै उनले आउँदो चुनावमा माओवादी, एकीकृत समाजवादी, जसपा र मोहनविक्रम सिंहबीच गठबन्धन बन्ने बताए ।

सोही कार्यक्रममा दाहालकी छोरी एवं भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले आफ्नो समयमा केही गर्न नसक्ने चितवन कांग्रेसका नेता कार्यकर्ताहरु अहिले आफ्नो आलोचना लागेको टिप्पणी गरे ।