कर्णालीका मुख्यमन्त्री शाहीद्वारा राजीनामा

कर्णालीका मुख्यमन्त्री शाहीद्वारा राजीनामा



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । गत ३ वैशाखमा विश्वासको मत लिँदा नेपाली कांग्रेससँग भएको सहमतिका आधारमा राजीनामा दिएका हुन् । सोमबार बेलुका मुख्यमन्त्री शाहीले पत्रकार सम्मेलनको आयोजना गरेर राजीनामाको घोषणा गरेका हुन् ।

३ वैशाखमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदा कांग्रेसलाई छ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति गरेका थिए । गत वैशाखमा नेकपा एमालेले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो । त्यस बेला कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति भएपछि कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको थियो । सत्ता साझेदारी गर्ने सहमतिअनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री शाहीले राजीनामा दिएपछि कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री हुने बाटो खुलेको छ । त्यही आधारमा आफूले सहमतिको पालना गरेर राजीनामा दिएको मुख्यमन्त्री शाहीले बताए ।

कस्तो बन्ला भावी सरकार
मुख्यमन्त्री शाहीले राजीनामा दिएपछि नेपाली कांग्रेसका कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् । कांग्रेस नेतृत्वको सरकारमा माओवादी केन्द्र, एकीकृत समाजवादी सहभागी हुनेछन् ।

फ्लोर क्रस गरेर मन्त्री भएका भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको पदावधि सकिएको छ । तीन जना मन्त्री पदमुक्त भएपछि एकीकृत समाजवादीले पदमुक्त भएका तीन मन्त्रालय आफूले पाउनुपर्ने एकीकृत समाजवादीका कर्णाली प्रदेश सदस्य देवी ओलीले बताइन् ।

कर्णाली प्रदेशमा हाल आठवटा मन्त्रालय रहेका छन् । आठवटामध्ये माओवादी केन्द्रले चारवटा मन्त्रालय पाउनुपर्ने माग गरेको छ ।