कोप २६ सम्मेलनः सन् २०३० सम्म वन फडानी रोक्ने एक सय देशको प्रतिबद्धता

कोप २६ सम्मेलनः सन् २०३० सम्म वन फडानी रोक्ने एक सय देशको प्रतिबद्धता



एजेन्सी / लन्डन । बेलायतको ग्लास्गो सहरमा जारी जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ मा विश्व नेताहरूले वन फडानीलाई सन् २०३० सम्ममा रोक्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिबद्धतामा ब्राजिलले पनि हस्ताक्षर गर्ने भएको छ । ब्राजिलको अमेजनस्थित जंगल फडानी हुँदा ठूलो संख्यामा जीवजन्तु संकटमा पर्नुका साथै वातावरणमा नकरात्मक असर परेको छ ।

जंगलको संरक्षण र बृक्षारोपणको लागि अझै धेरै रकम जुटाउन पनि विश्व नेता सहमत भएका छन् । वन फडानी रोक्ने सम्झौतामा १०० भन्दा बढी मुलुकले हस्ताक्षर गर्ने भएका छन् ।

त्यस्तै, २८ देशका सरकारले विश्वव्यापी खाद्यन्न बजार र कृषिजन्य उत्पादनका कारण हुने वन विनाश रोक्ने प्रतिबद्धता जनाउने भएका छन् । चरन वा जनवारलाई खानेकुरा उत्पादनका लागि रुख काट्दा जंगल विनाश भइरहेको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पृथ्वीको वन संरक्षण र वृक्षारोपणका लागि विश्व नेताबीच एतिहासिक सम्झौता हुन लागेको जानाकारी दिएका छन् ।

विश्वका सर्बाधिक ठूला कम्पनीहरुमध्ये ३० कम्पनीहरूले जंगल फडानीसँग जोडिएका गतिविधिमा गर्दै आएको लगानी रोक्ने प्रतिबद्धतसमेत जनाउने भएका छन् ।