टुँडिखेलमा ठाउँ नपाएपछि सर्‍यो आन्दोलन घोषणाको कार्यक्रम

टुँडिखेलमा ठाउँ नपाएपछि सर्‍यो आन्दोलन घोषणाको कार्यक्रम


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । विभिन्न ९ वटा दल मिलेर बनेको अग्रगामी मोर्चाले घोषणा गर्ने भनिएको आन्दोलनका कार्यक्रम पछि सरेको छ ।

मङ्सिर १० गते टुँडिखेलबाट आन्दोलनको कार्यक्रम घोषणा गर्ने मोर्चाको तयारी थियो । तर टुँडिखेल नपाएपछि घोषणा कार्यक्रम केही समयका लागि सरेको जनमत पार्टीका महासचिव सञ्जय यादवले बताए ।

उनले भने, ‘कार्यक्रम घोषणाको तयारी चलिरहेको थियो । सोही क्रममा टुँडिखेलमा कार्यक्रम गर्ने भनी बुझ्न महानगरपालिकामा जाँदा दुई महिनाका लागि बुक रहेको जानकारी पाइयो । त्यही भएर त्यहाँ कार्यक्रम नहुने भएको छ ।’

भृकुटीमण्डपमा राजनीतिक कार्यक्रम गर्न दिइरहेको छैन । अब माइतीघरबाटै आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको छ । माइतीघरमा कहिले कार्यक्रम गर्ने भन्नेबारे मोर्चाले मङ्सिर १५ गते बैठक बोलाएको छ । सो बैठकले निर्णय गरेर माइतीघरबाट आन्दोलनको घोषणा गर्ने तयारीमा मोर्चा जुटेको छ । मोर्चाले अहिले विभिन्न ठूला सहरमा सभा सम्मेलन आयोजना गरिरहेको छ ।

जनकपुर र विराटनगरको कार्यक्रम सम्पन्न गरी आज धरानमा कार्यक्रम आयोजना गरेको छ । मोर्चामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, खम्बुवान राष्ट्रिय मोर्चा र नेपाल जनमुक्ति पार्टी मिलेर बनेका छन् ।

नेपालको संविधानले समानता, समावेशिता र सामाजिक न्यायका अधिकार सुनिश्चित गरे पनि व्यवहारमा सबै समुदायले समान अवसर नपाएको दाबी अग्रगामी मोर्चाले गरेको छ । मधेसी, आदिवासी जनजाति, दलित तथा अन्य उत्पीडित र सीमान्तकृत समुदायले समान अधिकार, सम्मान र न्यायका लागि यो आन्दोलन गर्न लागेको मोर्चाले जनाएको छ ।