दीपक मनाङेलाई ६ करोड ऋण !

दीपक मनाङेलाई ६ करोड ऋण !



काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मनाङेले मन्त्री भएको ५ महिनापछि सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

मन्त्री मनाङेले सम्पत्ति विवरण सार्वजनिक गर्दे आफू ऋणमा रहेको बताएका छन् । उनले आफूसँग २२ तोला सुन, ४५ तोला चाँदी र मुगाको माला ८३ तोला रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

यस्तै सुन वैदेशिक रोजगारी र व्यापार व्यवसायबाट कमाएको उल्लेख गरेका छन् भने मुगा पैतृक सम्पत्तिका रुपमा रहेको उनले जनाएका छन् । मन्त्री मनाङेले सांसद र मन्त्री हुँदा प्राप्त गरेको १० लाख ४९ हजार ५३६ रुपैयाँ एभरेष्ट बैंक पोखरामा मौज्दात रहेको जनाएका छन् ।

उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख गरे अनुसार आफूसँग कुनै पनि सवारी साधन र घर नभएको जनाएका छन् भने संघर्ष गाईभैंसी प्रालि नामक आफ्नो फार्ममा २० वटा भैंसी र ५ वटा गाई रहेको जनाएका छन् ।

त्यस्तै मनाङेले प्रकाश, कृष्ण र श्याम महर्जनको नाममा काठमाडौं–२९ धर्मस्थलीमा कित्ता नम्बर २४, ६७, ७६ को जग्गा प्रतिआना ९ लाख रुपैयाँमा किनेको जनाएका छन् ।

उनले मालती महतारासँगको संयुक्त लगानीमा चन्द्रागिरि–२ मा ३ रोपनी जग्गा रहेको उल्लेख गरेका छन् भने उनको मकवानपुर, पदमपोखरीमा १ रोपनी ९ आना १० दाम संयुक्त जग्गामध्ये छोराको नाममा १५ आना जग्गा रहेको छ ।

त्यस्तए उनले कर्म गुरुङसँग ४० लाख, रमेश रानासँग ४० लाख, मनाङ फलफूल सप्लायर्ससँग ६० लाख, टीका भण्डारीसँग २ करोड ३५ लाख, टासी गुरुङसँग २ करोड ३५ लाखसहित कूल ६ करोड १० लाख रुपैयाँ ऋण भएको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।