मुख्यमन्त्रीमा जीवनबहादुर शाहीको दावी, आजै शपथ

मुख्यमन्त्रीमा जीवनबहादुर शाहीको दावी, आजै शपथ



काठमाडौँ । कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्रीको लागि नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले दावी पेश गरेका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिएपछि प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले गरेको नयाँ सरकार गठनको आह्वानमा शाहीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्यको समर्थनमा दाबी पेश गरेका हुन् ।

कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १२, कांग्रेसका ६ र एकीकृत समाजवादीका तीन सांसद छन् । मुख्यमन्त्रीमा दावी पेश गर्न १८ सांसदको समर्थन भए पुग्छ ।

मन्त्रालय भागबण्डामा दलहरूबीच मतभेद रहेकाले उनले आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्न लागेका हुन् । कांग्रेसले मुख्यमन्त्रीसहित दुई, माओवादी केन्द्रले चार, नेकपा (एकीकृत समाजवादी)ले तीन मन्त्रालयको दाबी गरिरहेका छन् ।

तर, सांसद संख्याको आधारमा कांग्रेसले मुख्यमन्त्रीसहित एक, माओवादीले चार र एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने गरी छलफल भइरहेको एक सांसदले बताए ।

विसं २०७४ फागुन ३ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले गत वैशाखमा विश्वासको मत लिने क्रममा कांग्रेससँग भएको सत्ता समीकरणसम्बन्धी सहमति कार्यान्वयन गर्न राजीनामा दिएका थिए ।

प्रदेश प्रमुख कलौनीले सोमबार बेलुका संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्तिका लागि २४ घण्टाभित्र आधार पेश गर्न प्रदेशसभा सदस्यलाई आहृवान गरेका थिए । प्रदेश प्रमुखको कार्यालयका अनुसार आज (मंगलबार) साँझ ८ बजे मुख्यमन्त्री शाहीले शपथ ग्रहण गर्ने कार्यक्रम छ ।