निर्वाचित वडा अध्यक्ष, एमाले अध्यक्ष, वाइसियल सहइन्चार्ज सहित ४२९ जना कांग्रेसमा प्रवेश

निर्वाचित वडा अध्यक्ष, एमाले अध्यक्ष, वाइसियल सहइन्चार्ज सहित ४२९ जना कांग्रेसमा प्रवेश



ललितपुर, ललितपुर क्षेत्र नं १ मा दुई छुट्टाछुट्टै कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ४२९ भन्दा बढी नेता कार्यकर्ताले नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। गोदावरी नगरपालिका वडा नम्बर ११ रा प्र पा नेपाल बाट निर्वाचित वडाअध्यक्ष निल बहादुर देसारले रा प्र पा परित्याग गरी कांग्रेस प्रवेश गरेका हुन्।

दशै, तिहार नेपाल सम्वत् ११४२ र छठ पर्वको उपलक्ष्यमा नेपाली कांग्रेस गोदावरी नगर समितीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा नेता देसारले कांग्रेस प्रवेश गरेका हुन्। त्यस्तै गोदावरी नगर कमिटीका वाइसियल सहइन्चार्ज निरोज महर्जनले पनि माओवादी केन्द्र परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका हुन्।

माओवादी केन्द्रका जिल्ला सदस्य उमा विसुंखे, गोदावरी नगरपालिका वडा नम्बर ७ देवीचौर बाट एमाले वडा सदस्यका उम्मेदवार सुभद्रा बजगाईं १२१ महिला सहित ३०२ जनाले कांग्रेस प्रवेश गरेका छन्। यति धेरैको संख्यामा महिला प्रवेश गराउन गोदावरी नगरपालिकाका नगर उपप्रमुख एवं नेपाली कांग्रेस गोदावरी नगर महिला समिती अध्यक्ष मुना अधिकारी तथा सन्तानेश्वर नौधारा सहकारी संस्था लिमिटेडका अध्यक्ष कांग्रेस नेतृ शशी खड्काको विशेष सक्रियता रहेको थियो।

नव प्रवेशीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउद, नेपाली कांग्रेसका पार्टी सभापति मदनबहादुर अमात्य, पूर्व अर्थ राज्यमन्त्री उदयशमशेर राणा, नेपाली काङ्ग्रेस खेलकुद बिभाग सचिव एवं महासमिति सदस्य मीनकृष्ण महर्जन, गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी लगायत नेताले टीका र माला लगाई पार्टीको सदस्यता वितरण गरी कांग्रेस प्रवेश गराएका हुन्।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्लास्तरीय नेताहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रम गोदावरी नगर कार्य समितिका सभापति प्रदिप जोशीको सभापतित्वमा भएको थियो।

यस्तै हिजो कोन्ज्योसोम गाउँपालिका पालिका कार्य समितिले आयोजना गरेको कार्यक्रममा तत्कालीन नल्लु गा.वि.स. एमालेका पूर्व गाविस अध्यक्ष कृष्ण बहादुर लोप्चनले एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन्। कार्यक्रममा लोप्चन सहित १२७ जनाले विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए।

नवप्रवेशीलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ, पार्टी सभापति मदनबहादुर अमात्य, पूर्व अर्थ राज्यमन्त्री उदयशमशेर राणा, नेपाली काङ्ग्रेस खेलकुद बिभाग सचिव एवं महासमिति सदस्य मीनकृष्ण महर्जन लगायतका नेताहरुले टीका माला लगाएर स्वागत गरेका थिए। उक्त कार्यक्रमको सभापतित्व पार्टीका सभापति सरोज लामाले गरेका थिए।