माधव नेपालको पार्टीलाई एमालेले १०औं महाधिवेशनमा नबोलाउने

माधव नेपालको पार्टीलाई एमालेले १०औं महाधिवेशनमा नबोलाउने



काठमाडौं ।नेकपा एमालेले आगामी मंसिरमा हुने पार्टीको १०औँ महाधिवेशनमा मुलुकभित्र र बाहिरका राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिने जानकारी दिएको छ ।

पार्टीको १०औँ महाधिवेशनका विषयमा जानकारी दिन बुधबार केन्द्रीय प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा विभाग प्रमुख योगेश भट्टराईले देशभित्रकै राजनीतिक दलका शीर्ष नेतादेखि कूटनीतिक नियोगका प्रतिनिधिलाई आमन्त्रण गरिने जानकारी दिएका हुन् ।

सोही क्रममा पत्रकारले एमालेबाट विभाजित भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)लाई महाधिवेशनमा आमन्त्रण गरिने छ कि छैन भनेर राखेको जिज्ञासामा विभाग प्रमुख भट्टराईले भने, ‘पत्राचार गर्ने ठेगाना नभएका, अवैध सम्बन्धबाट बनेका राजनीतिक समूहका व्यक्तिलाई आमन्त्रण गर्दैनौँ । ठेगाना स्पष्ट भएका र राजनीतिक शक्तिका प्रमुखलाई भने बोलाउनेछौँ ।’

एमाले महाधिवेशन आगामी १०-१२ मंसिरमा चितवनमा आयाेजना हुँदैछ ।

२२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुने

विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्था अनुसार दशौँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव गरी १५ जना पदाधिकारीसहितको २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

एक तिहाई महिलासहित नेपालको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व हुने गरी केन्द्रीय कमिटी समावेशी हुनेछ । यसैगरी महाधिवेशनले १५ सदस्यीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगको पनि चयन गर्नेछ ।

विधान महाधिवेशनले पारित गरेका राजनीतिक, साङगठानिक तथा विधानसम्बन्धी व्यवस्थाको बुझाइमा एकरुपता कायम गर्दै तिनको वैचारिक, राजनीतिक तथा साँगठानिक जगमा पार्टीलार्ई थप सुदृढ र एकताबद्ध गर्न दशौँ राष्ट्रिय महाधिवेशनले ठोस् रुपमा मार्गदर्शन गर्ने जारी विज्ञप्तिमा जनाइएको छ ।

महाधिवेशनका प्रतिनिधिको निर्वाचन आगामी कात्तिक २७ गते देशैभरि एकसाथ देहाय बमोजिम गरिनेछ भने बाँकी रहेका स्थानीय तह र वडास्तरका अधिवेशन यही कात्तिक २५ गतेभित्र सम्पन्न गर्न पार्टीले निर्देशन दिएको छ ।

प्रतिनिधिमा ३३ प्रतिशत महिला सुनिश्चित
पार्टीले केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारी समेत सदस्यमध्येबाट निर्वाचित हुने १५ जना प्रतिनिधि, सल्लाहकार परिषदका अन्य सदस्य राष्ट्रिय महाधिवेशनमा सहभागी हुने तर उनीहरुलाई मताधिकार नहुने प्रबन्ध गरेको छ ।

प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्यमध्येबाट कम्तीमा दुई महिलासहित पाँचजनाका दरले निर्वाचित हुने प्रतिनिधि, प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गतका १२०० सम्म पार्टी सदस्यमध्येबाट कम्तीमा एक महिलासहित तीन जनाका दरले निर्वाचित हुने प्रतिनिधि, सो सङ्ख्यामा ८०० सम्म सदस्य थप भएमा थप एक जना, १६०० सम्म सदस्य थप भएमा थप दुईजना, २४०० सम्म सदस्य थप भएमा कम्तीमा एक महिलासहित तीन जना र सो भन्दा बढी भएमा सोही अनुपातमा निर्वाचित हुने प्रतिनिधि तथा तीन जना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा एक जना महिला अनिवार्य हुनेछन् ।

देशभित्रका विशेष जिल्ला अन्तर्गतका १२०० सम्म पार्टी सदस्यमध्येबाट कम्तीमा एक महिलासहित तीन जनाका दरले निर्वाचित प्रतिनिधि हुनेछन् । सो सङ्ख्यामा ८०० सम्म सदस्य थप भएमा थप एकजना, १६०० सम्म सदस्य थप भएमा थप दुईजना, २४०० सम्म सदस्य थप भएमा कम्तीमा एक महिलासहित तीन जना र सो भन्दा बढी भएमा सोही अनुपातमा निर्वाचित प्रतिनिधि हुनेछन् । तीन जना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा एकजना महिला अनिवार्य हुनेछन् ।

देशभित्रका जिल्ला र विशेष जिल्ला अन्तर्गतका ५०० सम्म दलित पार्टी सदस्यमध्येबाट निर्वाचित हुने एक जना प्रतिनिधि र सो सङ्ख्यामा ५०० सम्म सदस्य थप भएमा थप एकजना, १००० सम्म सदस्य थप भएमा थप दुई जना, १५०० सम्म सदस्य थप भएमा कम्तीमा एक महिलासहित तीन जना र सो भन्दा बढी भएमा सोही अनुपातमा दलित प्रतिनिधि निर्वाचित हुनेछन् । तीन जना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा एकजना महिला अनिवार्य हुनेछन् ।

यस्तै भूगोलका प्रदेश अन्तर्गतका मजदूर पार्टी सदस्यमध्येबाट कम्तीमा तीन महिलासहित सातजनाका दरले निर्वाचित हुने प्रनितनिधि, भारत, अमेरिका ९क्यानडा समेत०, युरोप, एशिया प्यासिफिक, खाडी र ओसियानामध्ये प्रत्येकका पार्टी सदस्यबाट कम्तीमा दुई महिलासहित पाँच जनाका दरले निर्वाचित हुने प्रतिनिधिलाई आधार मानिनेछ ।

पार्टीका केन्द्रीय विभाग र केन्द्रीय कार्यालय अन्तर्गतका पार्टी सदस्यबाट निर्वाचित हुने कम्तीमा दुई महिलासहित पाँचजना प्रतिनिधि । विभागका सचिव र सदस्य विभाग र केन्द्रीय कार्यालय वा आफ्नो पार्टी सदस्यता कायम रहेकोमध्ये कुनै एक स्थानबाट उम्मेदवार बन्न सक्नेछन् ।

स्वदेशका २२ जनङ्गठनका केन्द्रीय कमिटीमा कार्यरत पार्टी सदस्यबाट कम्तीमा दुई महिलासहित पाँच जनाका दरले निर्वाचित प्रतिनिधि गरी कूल एक हजार ९९९ प्रतिनिधि रहनेछन् ।

महाधिवेशनको मूल व्यवस्थापन समितिको कार्यालय भरतपुरस्थित नेकपा (एमाले)को जिल्ला पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले कात्तिक १५ गते शुभारम्भ गरिससकेका छन् । र, त्यहीँबाट आवश्यक तयारी कार्यको संयोजन भइरहेको छ ।