ललितपुरको मंगलबजारमा गएराती आगोलागी हुँदा एकै परिवारका ४ जनाको मृत्यु

ललितपुरको मंगलबजारमा गएराती आगोलागी हुँदा एकै परिवारका ४ जनाको मृत्यु



ललितपुर । ललितपुरको मंगलबजारस्थित चक्रबहिलमा गएराती भएको आगोलागीमा चारजनाको मृत्यु भएको छ । म्ह पूजा गरिरहेको बेलामा घरको चौथो तलमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय लक्ष्मीकृष्ण ताम्राकारको घरमा एकाएक आगोको मुस्लो देखिएको र तत्‌पश्चात बिस्फोटको आवाज सुनिएको प्रत्यक्षदर्शीको भनाइ छ । घटनामा घरधनी लक्ष्मीकृष्ण ताम्राकार, छोरी अन्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्राकारको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

घटनामा दुईजना घाइते भएका छन् र उनिहरुको पाटन अस्पतालमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा प्रहरीले विस्तृत अध्ययन गरिरहेको छ । मृतकको शव पाटन अस्पतालमा राखिएको छ । आज पोष्टमार्टम गरिएपछि आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ ।