एमसिसीले देशको विकास हुन्छ, भारत र चीनले भ्रम छरे : डा.भट्टराई

एमसिसीले देशको विकास हुन्छ, भारत र चीनले भ्रम छरे : डा.भट्टराई



काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं जसपा सङ्घीय परिषद्का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले एमसिसीले देशको विकास गर्ने बताएका छन् । भारत र चीनले यसबारेमा भ्रम छरेको आरोप समेत लगाएका छन् ।

जनता समाजवादी पार्टीको सुज (पार्टी सङ्गठन सुदृढीकरण तथा जनपरिचालन) अभियान लिएर गोरखाका गाउँपालिका र नगरपालिकाबाट अभियान थालेका भट्टराईसँग स्थानीयले राखेको जिज्ञासाको जवाफ दिँदै उनले नेपालमा विकास नहोस् भन्ने तत्त्वहरूले नै एमसिसीबारे भ्रम छरेको बताए ।

यसमा भारत र चीन लागेको उनको आरोप थियो। एमसिसी सहयोग लिएर देश विकास गर्नुपर्ने उनको तर्क थियो। उनले एमसिसीबारे शङ्का नगर्न आग्रह गरे।

एमसिसीले देश खान्छ भन्ने भ्रम हो भन्दै उनले भने, ’एमसिसी पास गरे यहाँ अमेरिकी सेना नेपाल आउँछ, नेपाल खान्छ भन्छन् । यी सबै भ्रम हुन्। के त्यस्तो भए, नेपाली सुरक्षाकर्मी के हेरेर बस्छ ? हामी चुप लागेर बस्दैनौँ नि ।

अहिले त हामी सहयोग लिने हो, विकास र समृद्धिमा लाग्ने हो, अहिले कसैसँग निहुँ खोज्ने अवस्थामा हामी छैनौँ। पहिले हामी बलियो बन्ने हो अनि पो कसैले हेप्न सक्दैन । अहिले एउटाले सहयोग दिन लाग्दा अर्को देशले भ्रम छर्ने काम गरेको छ, यो गलत काम हो ।’

यस्तै उनले दुई महिनाभित्रै बूढीगण्डकीको मोडालिटीबारे टुङ्गो लाग्ने दाबी गरे। आठ वर्ष बितिसक्दा पनि आयोजनाको मोडालिटीमा अल्झँदा आफू दुखी भएको भन्दै मतदातालाई आश्वासन दिन भ्याए । अस्थिर सरकारको कारण बुढीगण्डकीको यो हालत भएको उनको तर्क थियो।