जबराको बहिर्गमनका लागि बारले गुहा-यो राजनीतिक नेतृत्व

जबराको बहिर्गमनका लागि बारले गुहा-यो राजनीतिक नेतृत्व



काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनका लागि आवश्यक निर्णय लिन राजनीतिक नेतृत्वलाई आग्रह गरेको छ ।

प्रधानन्यायाधीश राणा पदमा बस्न अयोग्य भएको भन्दै उनलाई राजीनामा दिन सुझाएको बारले राजीनामा नदिएमा आवश्यक निर्णय लिन राजनीतिक नेतृत्वलाई आग्रह गरेको हो ।

बारका महासचिव लीलामणि पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवासहित संसद्‍मा रहेका राजनीतिक दललाई राणालाई पदमुक्त गराउन आवश्यक अग्रसरता लिन आग्रह गर्दै ज्ञापनपत्र बुझाउने निर्णय गरेको जानकारी दिए । बार एशोसिएशनले प्रधानन्यायाधीशको राजीनामाको विकल्प नभएको बताउँदै आएको छ ।

बारले न्यायलयको नेतृत्व लिन राणा किन असफल हुनुभयो र उनले किन पद छाड्नुपर्छ भन्नेबारे राजनीतिक दलहरू लगायत सबै सरोकारवालालाई स्पष्ट पार्न आगामी तीन दिनभित्र स्वेतपत्र सार्वजनिक गर्ने पनि निर्णय गरेको छ । नेपाल बारले आगामी कात्तिक ३० गतेसम्मका लागि प्रधानन्यायाधीश राणाविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।