तीन प्रदेश प्रमुख फेर्ने सरकारको निर्णय

तीन प्रदेश प्रमुख फेर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले तीन वटा प्रदेशमा नयाँ प्रदेश प्रमुख पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले सोमबार प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो ।

स्रोतका अनुसार उनीहरुलाई प्रदेश प्रमुख बनाउने निर्णय भएर पत्र राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ । प्रदेश प्रमुखमा सत्तारूढ दलहरूले भागबन्डा गरेका हुन् ।

प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) का नेतासमेत रहेका पूर्वसभासद खापुङ प्रदेश प्रमुख भएका छन् । नेकपा माओवादी केन्द्रनिकट कर्णालीमा पहिले प्रदेश २ का प्रदेश प्रमुख भइसकेका परियारलाई नै जिम्मेवारी दिइएको छ ।

सुदूरपश्चिममा भने कांग्रेस नेता तथा पूर्वसभासद जोशी प्रदेश प्रमुख भएका छन् । नयाँ प्रदेश प्रमुखहरूलाई छिट्टै सपथग्रहण गराउने तयारी रहेको जनाइएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा नियुक्त भएका प्रदेश प्रमुखलाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले हटाएको हो । यसअघि प्रदेश नम्बर २, बागमती, गण्डकी र लुम्बिनी प्रदेश प्रमुख पनि फेरिएका थिए ।