महानिर्देशकले राष्ट्रपतिलाई सोधे– तपाईंको नाम के हो ?

महानिर्देशकले राष्ट्रपतिलाई सोधे– तपाईंको नाम के हो ?



काठमाडौं । बुधवार बिहान साढे ११ बजे केन्द्रीय तथ्यांक विभागका महानिर्देशकसहितका कर्मचारी राष्ट्रपति निवास शीतल निवास छिरे । जहाँ राष्ट्रपति विद्यादेवी भण्डारी आजैबाट सुरु भएको राष्ट्रिय जनगणनाका लागि सोधिने प्रश्नावलीको उत्तर दिन तयार भएर बसेकी थिइन् ।

देशभर जनगणना लिन घरघरमा गणकहरु खटिएका छन् । तर, राष्ट्रपति भण्डारीको परिवारको जणना लिन भने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ आफैँ उपस्थित थिए ।
श्रेष्ठको टोली र राष्ट्रपतिबीच केहीबेर शिष्टाचार भेट भयो । त्यसपछि महानिर्देक श्रेष्ठले आफूलाई गणककै रूपमा प्रस्तुत गर्दै भने– सुरु गरौं है ।

जनगणनाको पारिवारिक लगत फारम खोल्दै उनले पहिलो प्रश्न गरे– तपाईं नाम के हो ? कति वर्षको हुनुभयो ?

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार श्रेष्ठले सोधेका यस्ता केही प्रश्नको उत्तर राष्ट्रपति भण्डारी स्वयंले दिएपछि थप विवरण भने टोलीमा खटिएका अन्य व्यक्तिले परिवारका सदस्यको सहयोगमा संकलन गरे ।

विभागको टोलीले प्रधानमन्त्रीको विवरण पनि यसैगरी लिएको छ । आजबाट सुरु भएको जनगणना १५ मंसिरसम्म चल्नेछ ।

विभागका अनुसार जनगणना लिन देशभर आठ हजार पाँच सय जना सुपरीवेक्षक परिचालन गरिएको छ । २०७२ सालमा नेपालको संविधान जारी भएपछि लिइएको यो पहिलो जनगणना हो ।
१९६८ सालमा चन्द्रशमशेरले सुरु गरेको जनगणना हरेक १० वर्षमा हुँदै आएको छ ।