वडा अधिवेशनका लागि १३ जिल्लामा काँग्रेसको तयारी तीव्र

वडा अधिवेशनका लागि १३ जिल्लामा काँग्रेसको तयारी तीव्र



काठमाडौं । नेपाली काँग्रेसले अधिवेशन प्रक्रिया रोकिएका १३ जिल्लामा २७ गते शनिबार वडा अधिवेशन गर्दैछ । भदौ १८ गते वडा अधिवेशन सुरु भए पनि क्रियाशील विवादका कारण १३ जिल्लामा अधिवेशन प्रक्रिया रोकिएको थियो । १३ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याउने क्रममा गत मंगलबार रौतहटको क्रियाशील विवाद मिलेको थियो । काँग्रेस केन्द्रीय कार्यालयले बारा र रौतहटको पनि क्रियाशील सदस्यता सार्वजनिक गरेको छ । योसँगै बाँकी १३ जिल्लामा वडा अधिवेशन गर्ने हुने निश्चित भएको छ ।

कात्तिक २७ गते सप्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सुर्खेत, डोल्पा, कैलाली, रसुवा र बाँके गरी १३ जिल्लामा वडा अधिवेशन हुन लागेको हो । वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा काँग्रेस निर्वाचन समितिले निर्वाचन अधिकृत खटाइएको छ । केन्द्रीय निर्वाचन समितिले पठाएका निर्वाचन अधिकृतहरु वडा अधिवेशनको तयारीमा जुटेका छन् ।

उनीहरुले सम्बन्धित जिल्लामा वडा अधिवेशनका लागि निर्वाचन प्रतिनिधि खटाउने काम भइरहेको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । जिल्लाका सबै वडा र नगरमा निर्वाचन अधिकृतलाई खटाउन अभिमुखीकरण पनि गरिसकिएको छ । जिल्लामा खटाएका निर्वाचन अधिकृतले सम्बन्धित जिल्लाका नेता कार्यकर्तासँग पनि छलफल गरिरहको छन् ।

सिन्धुपाल्चोकमा कार्तिक ३० गते बाँकी रहेका वडा अधिवेशन, मंसिर ५ मा गाउँनगर अधिवेशन, मंसिर ८ मा प्रदेश क्षेत्रीय अधिवेशन, मंसिर १२ मा संघीय क्षेत्रीय अधिवेशन हुने भएको छ । जिल्ला अधिवेशनका लागि मिति तय भइ नसकेको जानकारी प्राप्त भएको छ ।

वडा अधिवेशनको तयारीका लागी बुधबार काँग्रेस कैलालीले निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीसँग छलफल गरेका थिए । कैलालीका मोहोन्याल गाउँपालिका, चुरे गाउँपालिकाका पहाडी क्षेत्र तथा टाढा रहेका वडा तथा नगरमा बुधबार नै निर्वाचन अधिकृतलाई खटाइसकिएको सुवेदीले बताए । कैलालीका एक सय २६ वडा र १३ वटै पालिकामा निर्वाचन अधिकृत खटाउने काम भइरहेको उनको भनाइ छ ।

हिमाली १३ जिल्लामा जिल्ला अधिवेशन समेत सम्पन्न गरिसकेको काँग्रेसले बाँकी हिमाली जिल्ला सोलुखुम्बु, दार्चुला र म्याग्दीमा कात्तिक २७ प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्दै छ ।

उक्त तीन जिल्लामा जिल्ला अधिवेशन भने मंसिर १ गते हुनेछ । यस्तै जिल्ला अधिवेशन हुन बाँकी जुम्लामा पनि मंसिर १ गते अधिवेशन हुने छ । बाँकी ६१ जिल्लामा मंसिर ३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र मंसिर ६ गते प्रतिनिधिसभा क्षेत्रीय र एक निर्वाचन भएको जिल्ला अधिवेशन हुने छ । मंसिर १० गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन हुनेछ ।