November 30, 2021 मंसिर १४ , २०७८

वरिष्ठ नेता पौडेल समूहको केन्द्रीय सदस्यहरुको बैठक बस्ने

वरिष्ठ नेता पौडेल समूहको केन्द्रीय सदस्यहरुको बैठक बस्ने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको केन्द्रीय सदस्यहरुको बैठक बस्ने भएको छ । केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि नेता पौडेलले आफूपक्षीय केन्द्रीय सदस्यहरुलाई छलफलका लागि बोलाएका हुन् । बैठक आज दिउँसो बस्ने पौडेल निकट केन्द्रीय सदस्य गुरु घिमिरेले जानकारी दिए ।

पौडेल समूहले केन्द्रीय समिति बैठकमा आफ्नो समूहबाट साझा धारणा बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरुको बैठक बोलाएको जनाएको छ । बिहीबार मात्रै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफूनिकट पदाधिकारीसँग छलफल गरेका थिए । कांग्रेस केन्द्रीय समिति बैठक आइतबार बस्दैछ । केन्द्रीय समिति बैठकले महाधिवेशनको तयारीका लागि विभिन्न उपसमिति गठन गर्न बताइएको छ ।

कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौंमा हुँदैछ । कांग्रेसले वडा अधिवेशन नभएका जिल्लाहरुमा कात्तिक २७ गतेदेखि अधिवेशनका कार्यक्रम सुरु गर्ने गरी संशोधित कार्यतालिका सार्वजनिक गरिसकेको छ ।