प्रकाशमानले बहिस्कार गरे पौडेल समूहको बैठक

प्रकाशमानले बहिस्कार गरे पौडेल समूहको बैठक



काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बहिस्कार गरेका छन् । आसन्न १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका सिंहले महाधिवेशन तयारीमा केन्द्रीय हुने भन्दै पौडेलले बोलाएको बैठक बहिस्कार गर्ने भएका छन् ।

वरिष्ठ नेता पौडेलले आज संस्थापन इतर समूहका केन्द्रीय पदाधिकारी र सदस्यहरुको बैठक बोलाएका छन् । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा २ बजे हुने बैठकमा आफू नआउने सन्देश सिंहले पौडेललाई पठाइसकेका छन् ।

पछिल्लो समय पौडेल र सिंहका बीच दूरी बढ्दै गएको अवस्था छ । १३ औँ महाधिवेशनमा पौडेल सभापति लड्दा सिंह प्रस्तावक रहेका थिए । १३ औँ महाधिवेशनमा आफूले सभापतिमा सघाए पनि पौडेलले अहिले सहयोग नगरेको सिंहको गुनासो छ । यसअघि पौडेल पक्षको बैठकमा नियमित सहभागी हुने सिंहले यही कारण आजको बैठक बहिस्कार गर्न लागेका हुन् ।