व्यक्तिवादी प्रवृत्ति हाबी भएकाले एमालेमा विद्रोह गर्न बाध्य भयौँ : झलनाथ खनाल

व्यक्तिवादी प्रवृत्ति हाबी भएकाले एमालेमा विद्रोह गर्न बाध्य भयौँ : झलनाथ खनाल



काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता वरिष्ठ नेता झलनाथ खनालले एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएकाले विद्रोह गरेर नयाँ पार्टी खोल्न परेको बताएका छन् ।

शनिबारबाट सुरु भएको सो पार्टीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता खनालले एमालेको नेतृत्व दक्षिणपन्थी गुटले कब्जा गरेको, गुटवादी क्रियाकलाप सञ्चालन गरेको र पार्टीमा वैचारिक सैद्धान्तिक विचलन भएकाले आफूहरूले विद्रोह गर्नुपरेको बताएका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले समाजवादी क्रान्तिको रूपान्तरणलाई समेत अस्वीकार गरेकाले विद्रोह अनिवार्य भएको दाबी गरे ।

नेता खनालले अब जनताको बहुदलीय जनवाद (जबज) पार्टीको मार्गदर्शक सिद्धान्त बन्न नसक्ने पनि बताएका छन् । पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा वैचारिक–राजनीतिक कार्यक्रम प्रस्तुत गर्दै खनालले संविधान मार्फत् जबज कार्यान्वयन भइसकेको बताएका छन् ।

‘अब जबज हाम्रो मार्गदर्शन सिद्धान्त बन्न सक्दैन । मार्क्सवाद­ लेनिनवाद नै हाम्रो मार्गदर्शन सिद्धान्त हो’ नेता खनालले उल्लेख गरेका छन् । जबजलाई भरपुर उपयोग गर्दै समाजवादी क्रान्ति र रुपान्तरणको दिशामा अगाडि बढ्नुपर्ने समेत उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।