हरहालतमा मंसिरमा महाधिवेशन गर्ने कांग्रेस पदाधिकारी बैठकमा सहमति

हरहालतमा मंसिरमा महाधिवेशन गर्ने कांग्रेस पदाधिकारी बैठकमा सहमति



काठमाडौं । नेपाली कांग्रेसले अव भने महाधिवेशनको मिति नसार्ने भएको छ। पछिल्लो पटक संशोधन गरिएको कार्यतालिका आधारमा नै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने सहमति शनिवार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले गरेको छ।

पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा शनिबार बसेको बैठकले मंसिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने र भोलि बस्ने केन्द्रिय समितिको बैठकले यसैगरी निर्वाचन सम्पन्न गर्न निर्वाचन समितिलाई जिम्मेवारी दिने तय गरेको छ ।

बैठकपछि कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले आइतबार बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकले पछिल्लो पटक संशोधित कार्यतालिकालाई अनुमोदन गर्ने जानकारी दिए ।

त्यस्तै बैठकमा महाधिवेशन सम्पन्न गर्नका लागि बिभिन्न तयारी समितिहरु पनि गठन गर्ने बिषयमा छलफल भएको र केन्द्रीय समितिले त्यसलाई अन्तिम रुप दिने शर्माले बताए । केन्द्रीय समितिले महाधिवेशनको कार्यतालिका अनुमोदन गरे पनि महाधिवेशनका बिषयमा देखिएका अन्यौलता अन्त्य हुने उनले बताए ।

त्यस्तै यसअघि रोकिएको प्रदेशसम्मको अधिवेशन पनि तोकिएको समयमा नै हुने कांग्रेसले जनाएको छ । क्रियाशील सदस्यता विवादका कारणले ढिलाइ भएका १३ जिल्लाको वडा अधिवेशन पनि शनिबारबाटै सुरु भएको छ । यद्यपि सर्लाहीमा पार्टीका निर्वाचन अधिकृतले राजिनामा दिएका कारण वडा अधिवेशन हुनेमा अन्योल कायमै छ । कांग्रेसको निर्वाचन समितिले कार्तिक ११ गते महाधिवेशनको संशोधित कार्यतालिका प्रकाशित गरेको थियो ।