कांग्रेसको १४औं महाधिवेशनले नेतृत्व मात्रै चयन गर्ने

कांग्रेसको १४औं महाधिवेशनले नेतृत्व मात्रै चयन गर्ने



काठमाडौं । नेपाली कांग्रेसको आगामी १४ औं महाधिवेशनले पार्टी नेतृत्व मात्रै चयन गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्य समिति बैठकले मंसिर २४ गतेदेखि २६ गतेसम्म हुने महाधिवेशनले नेतृत्व मात्रै चयन गर्ने निर्णय गरेको हो । शनिबार पदाधिकारी र पूर्वपदाधिकारीको बैंठकले गरेको निर्णय हिजाे बुढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा पेश भएको छ ।

बैंठकका बिषयमा जानकारी दिँदै प्रवक्ता विश्वप्रकाश शर्माले आगामी महाधिवेशनले नेतृत्व चयन गर्ने र नयाँ आउने कार्यसमितिले विधान अधिवेशन बोलाउने प्रस्ताव केन्द्रीय समितिको बैठकमा पेश भएको जानकारी दिए । त्यस्तै महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समिति तथा उपसमितिहरु पनि गठन भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा महाधिवेशन मूल समिति गठन भएको छ भने सुरेन्द्र पाण्डेको संयोजकत्वमा भोजन तथा आवास उपसमिति गठन भएको छ ।

अर्थमा ज्ञानेन्द्रबहादुर कार्की, प्रसारप्रसारमा प्रवक्ता शर्मा, विदेशी पाहुना स्वागत तथा सत्कारमा प्रकाशशरण महत र स्वास्थ्यमा मोहन बस्नेतलाई संयोजक तोकिएको छ । त्यस्तै मंसिर १६ र १७ गते सम्पन्न हुने प्रदेश अधिवेशनका लागि सातवटै प्रदेशबाट संयोजक तोकिएको छ ।

जस अन्तर्गत प्रदेश नम्बर एकमा कृष्णप्रसाद सिटौला, दुईमा रमेश लेखक, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँड, बाग्मतीमा प्रकाशमानसिंह, कर्णालीमा जीवनबहादुर शाही र सुदुरपश्चिमका लागि दिलेन्द्रप्रसाद बडुँलाई सयोजक तोकिएको छ ।

बैठकले महाधिवेशन निर्वाचन समितिले संशोधन गरेको निर्वाचन कार्यतालिका पनि अनुमोदन गरेको छ । बैठकमा केन्द्रीय सदस्यहरुले महाधिवेशन सम्पन्न गर्ने बिषयमा आ आफ्नो धारणा राखेका छ ।