कांग्रेसको नेपालगञ्ज उपमहानगरमा त्रिपक्षीय भिडन्त हुँदै

कांग्रेसको नेपालगञ्ज उपमहानगरमा त्रिपक्षीय भिडन्त हुँदै



नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेमा आगामी मंसिर २ गते हुने नेपालगञ्ज उपमहानगरपालिकाको सभापति पदका लागि त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।

बिहीबार हुने नगर अधिवेशनमा नेपालगञ्ज उपमहानगरको नेतृत्वको लागि वर्तमान नगर सभापति प्रशान्त विष्ट तेस्रो इनिङ्सको लागि प्रतिस्पर्धामा छन् । उनी संस्थापन पक्षका हुन् । उनको प्यानलबाट उपाध्यक्षमा धनराज बर्मा र कमाल अन्सारी, सचिवमा सुरेन्द्र कुमार श्रेष्ठ, हरिबाबु घिमिरे, उपसचिवमा शरदराज अधिकारी र मार्टी ओली क्षेत्री चुनावी मैदानमा होमिएका छन् ।

यसैगरी संस्थापन पक्षबाटै तरुण दलका जिल्ला सचिवसमेत रहेका विनोद रिजालले पनि चुनावी मैदानमा छन् । उनको प्यानलबाट उपसभापतिमा अतुल गुप्ता र किननुरे मुल्तकिम (शाहील) र सहसचिवमा मनमोहन लम्साल तथा नर्मदा शाही चुनावी मैदानमा होमिएका छन् । यो प्यानलबाट सचिवको टुंगो लागि नसकेको सभापतिका प्रत्याशी रिजालले बताए ।

संस्थापन इतर पक्षबाट नेपालगञ्ज उपमहानगरकी उपप्रमुखसमेत रहेकी उमा थापामगर पार्टीको उपमहानगर सभापतिका लागि चुनावी मैदानमा छिन् । उनको प्यानलबाट सचिवमा मात्र १ जना उम्मेदवारको टुंगो लागेको छ । सचिवमा रवीन्द्र घिमिरे चुनावी मैदानमा उत्रिएका छन् । दुई उपसभापति, एक सचिव र दुई सहसचिवमा उम्मेदवार छनौटको लागि पहल भइरहेको युवा नेता विमल चन्दले बताए ।

संस्थापन पक्षका दुई जना प्रतिस्पर्धामा हुँदा त्यसको लाभ संस्थापन इतर पक्षकी उम्मेदवार थापामगरले उठाउने सम्भावना बढी रहेको बताइन्छ । थापामगर संस्थापन इतरमा कोइराला परिवार निकट छिन् । सबै उम्मेदवारहरू अहिले क्षेत्रीय प्रतिनिधिलाई भेट्न व्यस्त छन् । निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न तीनै जनाले दिनरात कसरत गरिरहेका छन् ।

बाँकेमा पालिका अधिवेशन मंसिर २ गते हुनेछ । उम्मेदवारी दर्ता भने मंसिर १ गते नै हुनेछ । निर्वाचन समितिले १३ जिल्लाको नगर अधिवेशन कात्तिक ३० का लागि तोकेको थियो । तर, बाँकेमा नगर अधिवेशन दुई दिन ढिलो हुने भएको छ । बाँकेमा कात्तिक २७ का लागि तोकिएको वडा अधिवेशन एक दिन ढिलो सम्पन्न भएको थियो ।

बाँकेको वडा अधिवेशनमा संस्थापन इतरबाट बढी विजयी भएको सो पक्षको दाबी छ । नेपालगञ्ज उपमहानगरपालिकाको अधिवेशनमा ३३६ जनाले मतदान गर्नेछन् ।