‘जबरालाई बल पुग्ने न्यायाधीशको कार्य स्वीकार्य हुँदैन’

‘जबरालाई बल पुग्ने न्यायाधीशको कार्य स्वीकार्य हुँदैन’



काठमाडौं, २ मंसिर । सर्वाेच्च अदालत बार एसोसिएसन अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बल पुग्ने गरी कुनै पनि कार्य नगर्न न्यायाधीशहरूलाई आग्रह गरेका छन् ।

बिहीबार दिउँसो साढे १ बजे बस्न लागेको फुलकोर्ट बैठकमा न्यायाधीशहरू सहभागी हुन लाग्दा शाक्यले सो बताएका हुन् । जबरालाई बल पुग्ने कुनै कार्य भएमा आफूहरूलाई स्वीकार्य नहुने उनको भनाइ छ ।

‘न्यायाधीशहरूबाट जबरालाई बल पुग्ने कुनै कदम चालेमा स्वीकार्य हुनेछैन’, उनले भने, ‘उहाँ डुब्दै गएको घाम हो । उहाँलाई साथ दिने पनि डुब्छन् । हामी जितको नजिक छौं ।’

जबराले गोला लिने र सुनुवाइ गर्ने काम भए आपत्तिजनक हुने उनको भनाइ छ । बेन्च सेयर गर्ने इजलासमा बहस नगर्ने अध्यक्ष शाक्यले चेतावनी दिए । बिहीबार धर्नामा कानुन व्यवसायी घाइते हुने गरी भएको प्रहरीको बलप्रति उनले आपत्ति जनाए ।

यस्तै, बारका पूर्व अध्यक्ष हरिहर दाहालले बारको आन्दोलनमा प्रहरी हस्तक्षेप बन्द गर्नुपर्ने बताए । जबराले राजीनामा नदिने भन्दै उनले भने, ‘ सितिमिति जबराले छोड्ने अवस्था छैन । पोखरामा तोकिएको राष्ट्रिय सम्मेलन काठमाडौंमै गरौं । तीन हजार साथीहरू सडकमा राखेर प्रदर्शन गर्न सकियो भने प्रभावकारी हुन्छ ।’