काँग्रेसको प्रदेश अधिवेशनकाे आउन थाल्यो परिणाम

काँग्रेसको प्रदेश अधिवेशनकाे आउन थाल्यो परिणाम



काठमाडौं । नेपाली काँग्रेसको प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशनबाट परिणाम आउन थालेको छ । कतिपय क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएका छन् भने केही क्षेत्रमा आज शनिबार अधिवेशन सुरु हुँदैछ ।

नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ६१ जिल्लामा शुक्रबार प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन सुरु भएको हो । ओखलढुङ्गा, सिन्धुपाल्चोक, रसुवा र सर्लाहीबाहेकका जिल्लामा जारी अधिवेशनबाट नेतृत्व चयन भइरहेको छ ।

नेपाली कांग्रेस पार्टी कार्यालय सचिव केशव रिजालले काँग्रेसको साङ्गठानिक संरचना ठूलो भएको र नेतृत्वका लागि योग्य प्रतिस्पर्धीहरू धेरै भएकाले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन भएको बताए । उनले पहिलो पटक प्रदेश सभा निर्वाचन क्षेत्रमा निर्वाचन भइरहेकाले नेतृत्व पङ्क्तिदेखि कार्यकर्ता र शुभचिन्तकसम्ममा व्यापक उत्साह रहेकाे जानकारी दिए ।

काठमाडौँ, भक्तपुर र ललितपुरसहित पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, उदयपुर, झापा, मोरङ, सुनसरी, सिन्धुली, काभ्रे, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, रुपन्देही, कपिलवस्तु, पाल्पा,अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान, दाङ, बर्दिया, रुकुम (पश्चिम), सल्यान, जाजरकोट, दैलेख, डोटी, अछाम, बैतडी, डडेलधुरा र कञ्चनपुरमा अधिवेशन भइरहेको छ ।

काठमाडौँमा ७ सर्वसम्मत
काठमाडौँका २० वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा काँग्रेसको अधिवेशन सम्पन्न भएको छ । काठमाडौँ काँग्रेसका सभापति कृष्ण (सबुज) बानियाँले प्रदेश सभा ४ ‘ख’मा रामप्रसाद लुइटेल, प्रदेश सभा ६ ‘क’मा खेमराज तिवारी, प्रदेश सभा ७ ‘क’मा नवीन मानन्धर, प्रदेश सभा ८ ‘क’मा इन्द्रमान सुवाल, प्रदेश सभा ९ ‘ख’मा राजेन्द्र भट्टराई र प्रदेश सभा १० ‘क’मा शैलेष मानन्धर र प्रदेश सभा १० ‘ख’मा धर्मानन्द श्रेष्ठ निर्विरोध हुनुभएको जानकारी दिनुभयो । प्रदेश सभा ५ ‘क’मा रमेश डङ्गोल र प्रदेश सभा ७ ‘ख’मा वासुदेव लामा निर्वाचित हुनुभएको जिल्ला सभापति बानियाँले बताए ।

ललितपुरका ६ वटै प्रदेशसभामा कांग्रेसको नयाँ नेतृत्व
ललितपुर । नेपाली कांग्रेस ललितपुरका ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएकाे छ । शुक्रबार भएको प्रदेशसभा अधिवेशनले यी निर्वाचन क्षेत्रमा नयाँ नेतृत्वको निर्वाचन र सर्वसम्मतमार्फत चयन गरिएको हो । ललितपुर १ ‘क’ मा मिलन सिलवाल र ‘ख’मा जगतबहादुर सभापतिमा चयन भएका छन् । ललितपुर २ ‘क’ मा दिवाकर नेपाल निर्वाचित भएका छन् भने २ ‘ख’मा चन्द्रमान महर्जन निर्वाचित भएका छन् ।

३ ‘क’को प्रदेशसभा सभापतिमा वीरेन्द्र महर्जन निर्वाचित भएका छन् । ३ ‘ख’मा सुरेन्द्र डंगोल निर्वाचत भएका छन् । ललितपुर कांग्रेस निर्वाचन समितिका संयोजक लोक कार्कीका अनुसार नवनिर्वाचित पदाधिकारीकाे विवरण आज शनिबार औपचारिक रुपमा सार्वजनिक गरिने छ ।

ललितपुर २ मा सर्वसम्मत
ललितपुर २ ‘क’ मा सर्वसम्मत नेतृत्व चयन भएकाे छ । निर्वाचन समितिका संयोजक कार्कीका अनुसार ‘क’ प्रदेशसभा सभापतिमा चन्द्रमान बज्राचार्य, उपसभापति नातीकाजी महर्जन र रवी महर्जन, सचिवमा सुरेन्द्र बज्राचार्य र सुदीप श्रेष्ठ, सहसचिवमा प्रमोदमान चित्रकार र महेश श्रेष्ठसहित २५ जनाको कार्यसमिति चयन भएकाे हाे ।

स्याङ्जाका चारवटै प्रदेश क्षेत्रमा सभापति निर्वाचित
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत स्याङ्जाका चारवटै प्रदेशसभामा सभापतिसहितको पदाधिकारी निर्वाचित भएका छन् ।

शुक्रबार सम्पन्न अधिवेशनबाट स्याङ्जा क्षेत्र नं १ प्रदेशसभा क को सभापतिमा केशरबहादुर खाँण (ध्रुब), ख मा प्रकाश तिवारी, २ को क मा अर्जुनप्रसाद खनाल र ख मा महेश भट्टराई निर्वाचित हुनुभएको हो । स्याङ्जा २ क मा अर्जुनप्रसाद खनाल ३२७ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी विद्या श्रेष्ठले २५१ मत प्राप्त गरे । त्यस्तै उपसभापतिमा कुलबहादुर गुरुङ, भविश्वर कोइराला, सचिवमा डण्डापानी पङ्गेनी, अमृत अर्याल, सहसचिवमा दिक्षान्तप्रताप खाँण, बोधराज कुँवर निर्वाचित भए । कूल ५९८ मतदाता रहेकोमा ५९३ मत खसेको थियो ।

झापामा दुई सभापति निर्विरोध, आठ निर्वाचित
नेपाली कांग्रेस झापा क्षेत्र नं १ को प्रदेश ‘क’को सभापति पदमा हरि बुढाथोकी र ‘ख’को सभापति पदमा सन्तोष न्यौपाने निर्वाचित हुनुभएको छ । झापामा प्रतिनिधिसभाको पाँच वटा र प्रदेश सभाको १० वटा निर्वाचन क्षेत्र छन् । जसमध्ये सबै प्रदेश क्षेत्रको निर्वाचन परिणाम शुक्रबार राति आइसकेको छ ।

नेपाली कांग्रेस झापाको प्रचार विभागका प्रमुख कृष्ण हुमागाईका अनुसार क्षेत्र नं २ को प्रदेश ‘क’को सभापतिमा लक्ष्मी आचार्य र ‘ख’को सभापतिमा किरण श्रेष्ठ निर्वाचित हुनुभएको छ । क्षेत्र नं ३ को प्रदेश ‘क’ र ‘ख’को सभापतिमा क्रमशः चिन्तामणि खरेल र तुलसीप्रसाद ओली निर्वाचित हुनुभएको छ । क्षेत्र नं ४ को प्रदेश ‘क’ र ‘ख’को चुनावी नतिजाअनुसार सभापतिमा पदमा क्रमशः विनोद ढकाल र ख्याम सिटौला निर्वाचित भएका छन् । त्यसैगरी, क्षेत्र नं ५ को प्रदेश ‘क’ को सभापतिमा जीवनकुमार राई र प्रदेश ‘ख’को सभापतिमा रवि न्यौपाने विजयी भए ।

त्यसैगरी २ ख मा महेश भट्टराई विजयी भए । भट्टराईले ३८२ मतसहित विजयी हुँदा उहाँका प्रतिस्पर्धी कमलप्रसाद रेग्मीले १७४ मत प्राप्त गर्नुभयो । उपसभापतिमा सर्वसम्मतबाट टीकाराम तिवारी र खगीसरा आले निर्वाचित भए । सचिवमा निर्वाचनबाट गोकर्णप्रसाद भट्टराई, रमेश बस्याल, सहसचिवमा विश्वप्रकाश भट्टराई र माया भट्टराई निर्वाचित भए ।

यसैगरी भक्तपुर जिल्लामा शुक्रबार निर्वाचनको प्रक्रिया सुरु भएको छ । भक्तपुरका सभापति दुर्लभ थापाले प्रदेश सभाका चारवटै क्षेत्रमा उम्मेदवारी दर्ता, अन्तिम नामावली प्रकाशन र मतदाता नामावली प्रकाशन गरिएको बताए ।

‘‘शुक्रबार सङ्घीय निर्वाचन क्षेत्र नं. १ का प्रदेश सभा ‘क’ र ‘ख’ तथा नं. २ का ‘क’ र ‘ख’मा चुनावी कार्यतालिका अनुसार उम्मेदवारी दर्ता भएको छ । शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मतदान हुनेछ’’, सभापति थापाले भन्नुभयो, ‘‘नेतृत्व चयन सर्वसम्मत रूपमै गर्ने प्रयास भए पनि सहमति जुट्न नसकेपछि लोकतान्त्रिक प्रक्रिया सुरु गरिएको हो । ’’

त्यसैगरी ललितपुरका तीनवटा सङ्घीय निर्वाचन क्षेत्रअन्तर्गतका छवटा प्रदेश सभा निर्वाचन क्षेत्रमा काँग्रेसको अधिवेशन भएको छ । ललितपुर सभापति मदन अमात्यका अनुसार सङ्घीय निर्वाचन क्षेत्र २ को प्रदेश सभा ‘ख’मा चन्द्रमान वज्राचार्य सर्वसम्मत चयन भएका छन् ।
‘‘सङ्घीय निर्वाचन क्षेत्र १ का प्रदेश सभा ‘क’ र ‘ख’, २ को ‘क’ र ३ का ‘क’मा लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गरिँदैछ, सबै क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान भएको छ, मतगणना जारी छ’’ अमात्यले भने ।

यसैबीच ओखलढुङ्गामा प्रदेश सभाको अधिवेशन शनिबार सुरु हुने जानकारी नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले दिए । ‘शनिबार उद्घाटन हुन्छ, आइतबार मतदान हुन्छ, निर्वाचनका कार्यतालिका यसरी नै बनाइएको छ,’ खतिवडाले भने ।

सिन्धुपाल्चोकमा पनि शनिबारबाट नेपाली काँग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया सुरु हुँदैछ । काँग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाले ४ गते वडाबाट सुरु भई १४ गते जिल्ला अधिवेशन सम्पन्न गरिने बताए ।

“शनिबार वडा अधिवेशन, ६ गते पालिका ‚तरीय अधिवेशन, ८ गते प्रदेश सभाको, १० र ११ गते क्षेत्रको र १३ र १४ गते जिल्ला अधिवेशन गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ”, उनले भने ।

रसुवामा नेपाली काँग्रेसको प्रदेशसभा क्षेत्रको अधिवेशन आइतबार सुरु हुने जिल्ला सभापति पेम्बा छिरिङ तामाङले जानकारी दिए । यसैबीच सर्लाहीमा नेपाली काँग्रेसको अधिवेशन गराउन खटाइएका दोस्रो निर्वाचन अधिकृत दिवाकरराज पाण्डे राजीनामा दिए । काँग्रेस सर्लाहीका सभापति नागेन्द्रकुमार रायले अब केन्द्रीय निर्वाचन समितिले कार्यतालिका जारी गरेपछि अधिवेशन हुने बताए ।