कांग्रेस इलामको १ ‘क’ मा मैया लिम्बु निर्वाचित, जिल्लाकै एक्ली महिला सभापति

कांग्रेस इलामको १ ‘क’ मा मैया लिम्बु निर्वाचित, जिल्लाकै एक्ली महिला सभापति



इलाम, ४ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेशसभा अधिवेशनमा इलामको निर्वाचन क्षेत्र नम्बर १ ‘क’ को सभापतिमा मैया लिम्बु निर्वाचित भएकी छन् । दुई प्रतिस्पर्धीलाई पछि पार्दै मैया प्रदेशसभा निर्वाचनमा जिल्लाकै एक्ली महिला सभापति बन्न सफल भएकी हुन् । लिम्बुले १२३ मत प्राप्त गरिन् । उनको निकटतम प्रतिस्पर्धी पुनम गुरुङले १०४ मत पाए भने रमेशचन्द्र सुवेदीले ८१ मत प्राप्त गरे ।

उपसभापतिमा ज्ञानबहादुर राई र मोहन कुमार गुरुङ निर्वाचित भएका छन् । राईले १४४ र गुरुङ्गले १२५ मत प्राप्त गरे । प्रतिस्पर्धी बासुदेव अधिकारीले ११० मत, भोला भण्डारीले ९६ मत र नीरबहादुर फागोले ७० मत प्राप्त गरेका छन् ।

सचिवमा कुसुम दाहाल र मनोज लेप्चा निर्वाचित भएका छन् । दाहालले १४५ र लेप्चाले १३९ मत प्राप्त गरे । सचिवमा पराजित बनेका तारा न्यौपानलेले ११० मत, राम घिमिरेले १०२ मत, बसुधा मोक्तान प्रधानले ६९ मत प्राप्त गरिन् ।

सहसचिवमा सीता घिसिङ र मखन गुरुङ निर्वाचित भए । घिसिङले २४४ र गुरुङ्गले १४७ मत पाएका छन् । प्रतिस्पर्धी कृष्णबहादुर राईले १२७ मत पाए ।