कांग्रेस अधिवेशन: चितवनमा काे-काे विजयी भए ?

कांग्रेस अधिवेशन: चितवनमा काे-काे विजयी भए ?



चितवन, ४ मंसिर । नेपाली कांग्रेसको १४औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनका ६ वटा प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट एक सभापति र दुई-दुई जना उपसभापति, सचिव र सहसचिव निर्वाचित भएका हुन् ।

हरेक क्षेत्रबाट १६ देखि १८ जनासम्म प्रदेश महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । सबै क्षेत्रबाट निर्वाचनको मतपरिणाम आइसकेको छ । ६ जना प्रदेशसभा क्षेत्रीय सभापतिका लागि १८ जनाले उम्मेदवारी दिएका थिए ।

चितवन निर्वाचन क्षेत्र नं १ (क)मा प्रतिस्पर्धाबीच सभापतिका उम्मेदवार गणेश मल्ल विजयी भएका छन् । सभापतिका लागि मल्ल र कृष्णबहादुर श्रेष्ठ चुनावी प्रतिस्पर्धा भएको थियो ।

मल्ल एक मत मात्रै बढी ल्याएर सभापतिमा विजयी भएका मुख्य निर्वाचन अधिकृत कमलमोहन पोखरेलले जानकारी दिए । क्षेत्रीय अधिवेशनमा मल्लको प्यानलै विजयी भएको हो । मल्लले १७६ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी श्रेष्ठले १७५ मत ल्याएका थिए ।

उपसभापतिमा प्रकाश श्रेष्ठ र राजु चौधरी, सचिवमा दीपेन्द्र रोक्का र संगीता चौधरी र सहसचिवमा कृष्णप्रसाद पाठक र पदमबहादुर मोक्तान विजयी भएका हुन् ।

निर्वाचन क्षेत्र नं १ (ख)को सभापतिमा गोविन्द गौतम विजयी भए । गौतमले २७९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी रामहरी न्यौपानेले २६५ मत प्राप्त गरे । अर्का प्रतिस्पर्धी सुजन थापाले जम्मा १९ मत मात्रै प्राप्त गरे ।

उपसभापतिमा इन्द्रलाल न्यौपाने र डिल्लीप्रसाद छत्कुली निर्वाचित भए । सचिवमा देवेन्द्रबहादुर भुजेल र मनोज चौधरी निर्वाचित भएका छन् । त्यस्तै, सहसचिवमा गीता दाहाल र रामसिंह चौधरी निर्वाचित भएका हुन् ।

२ (क)को सभापतिमा जनार्दन दाहाल विजयी भएका छन् । उनले २२९ मत प्राप्त गरे । उनका निकटम प्रतिद्वन्द्वी हरिप्रसाद भण्डारीले १९५ मत मात्रै प्राप्त गरे । अर्का प्रतिस्पर्धी राजकुमार गुरुङले जम्मा ५० मत पाए ।

उपसभापतिमा केशवराज रिमाल र मिठु गौतम सुवेदी, सचिवमा कुमबहादुर गुरुङ र ठाकुर लामिछाने र सहसचिवमा सोमराज आचार्य र सुजन थापा निर्वाचित भएकाे निर्वाचन अधिकृत सुशील घिमिरेले जानकारी दिए ।

२ (ख)को सभापतिमा रोशन शाही ठकुरी विजयी भए । ठकुरीले २६१ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी करुणाकान्त पोख्रेलले १९८ मत प्राप्त गरे । अर्का प्रतिस्पर्धी रचन कार्कीले २३ मत मात्रै प्राप्त गरे ।

उपसभापतिमा जानकी पौडेल सापकोटा र महेन्द्रराज पौडेल विजयी भएका छन् । सचिवमा कृष्ण विलास अधिकारी र रविभन्द्र शर्मा खनाल विजयी भए । सहसचिवमा बसन्त ढकाल र सजनी भन्तना विजयी भएको मुख्य निर्वाचन अधिकृत पोख्रेलले जानकारी दिए ।

३ (क)को सभापतिमा खेमनारायण सापकोटा विजयी भए । उनले ३०८ मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी कमलनाथ पौडेलले १५८ मत पाए भने अर्का प्रतिस्पर्धी शालिग्राम पौडेलले ११८ मत प्राप्त गर्न सफल भए ।

उपसभापतिमा आशबहादुर गुरुङ र सूर्यकला अधिकारी कोइराला, सचिवमा आनन्द प्रसाद सुवेदी र ठाकुरप्रसाद पौडेल र सहसचिवमा डिलु गुरुङ र भरत अधिकारी पण्डित विजयी भएका छन् ।

३ (ख)को सभापतिमा चार जनाले उम्मेदवारी दिएकामा १४७ मत ल्याएर शोभाखर चापागाईँ विजयी भए । उनका निकटम प्रतिस्पर्धी ओमप्रसाद पोख्रेलले ९९ मत ल्याए भने अर्का प्रतिस्पर्धी रामबहादुर कुँवरले ७८ र अशोक लामाले २८ मत मात्रै ल्याउन सफल भए ।

उपसभापतिमा केशव बसेल र लिलाराज भुसाल, सचिवमा गोविन्द शर्मा र सूर्य अधिकारी र सहसचिवमा नेत्रराज आचार्य र मोहदत्त काफ्ले निर्वाचित भएका छन् ।