धनकुटा प्रदेश सभा (ख) को सभापतिमा राजन पौडेल निर्वाचित

धनकुटा प्रदेश सभा (ख) को सभापतिमा राजन पौडेल निर्वाचित



धनकुटा । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत धनकुटामा सम्पन्न अधिवेशनमा प्रदेश सभा (ख) को सभापति पदमा राजन पौडेल निर्वाचित भएका छन् । उनी दुईसय ३३ मतसहित विजयी भएका हुन् । शनिबार बिहान सम्पन्न मत गणनाको परिणामअनुसार उनका निकटतम प्रतिस्पर्धी तिलक महतले एक सय ७६ मत प्राप्त गरेका छन् । प्रदेश सभा (ख) मा जम्मा चार सय ३५ मत खसेको थियो ।

प्रदेश सभा (ख) मा सभापति, सचिव र सहसचिव पदमा मतदान भएको थियो । समितिको सचिवमा दिलराज घिसिङ र गोपाल राई निर्वाचित भएका छन् । उनीहरूले क्रमशः दुई सय २७ र एक सय ७० मत प्राप्त गरेका छन् । यस्तै, सहसचिव विश्वास पुलामी र मणिराज राई निर्वाचित भएका छन् । उनीहरूले क्रमशः एक सय ८४ र एक सय ७६ मत प्राप्त गरेका छन् । उपसभापति पदमा चन्द्रकुमार लिम्बू र भीमबहादुर खड्का निर्विरोध निर्वाचित भएका थिए । समितिको कोषाध्यक्ष निर्वाचित पदाधिकारी मनोनित गर्ने कांग्रेसको विधानमा उल्लेख छ।

यता कांग्रेस अधिवेशन अन्तर्गत प्रदेश सभा (क) को आइतबार र जिल्लाको अधिवेशन सोमबार हुने कांग्रेस धनकुटा सचिव विजयसन्तोषी राईले बताए । प्रदेश निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनबाट एउटै प्रतिनिधि आउनुपर्ने भएकाले उनीहरूको सहजताको लागि प्रदेशसभा ‘क’ को अधिवेशन जिल्लाको अधिवेशनको अघिल्लो दिन गर्ने तयारी गरेको राईले जानकारी दिए । धनकुटामा प्रदेशसभा ‘क’ को अधिवेशन र जिल्ला अधिवेशन धनकुटा बजारमा हुने भएको छ।

जिल्ला अधिवेशनमा सभापतिका आकांक्षीमा वर्तमान कोषध्यक्ष दिनेश राई, गत निर्वाचन पराजित कमोट फागो र नेपाल विद्यार्थी संघ धनकुटाका सभापति बालानन्द दाहाल रहेका छन् ।

हाल जिल्ला समिति सचिव रहेका विजयसन्तोषी राई र जिल्ला सदस्य रहेका लेखनाथ पौडेल, निर्मल ओझा, रोषेश श्रेष्ठ, जयन्द्र घिसिङ, राजेन्द्रप्रसाद पौडेल सचिवका आकांक्षी रहेका छन् । यता, प्रदेश निर्वाचन क्षेत्र ‘क’ को सभापतिमा वर्तमान जिल्ला सदस्य मोहन वान्तवा राई र सो क्षेत्रकै वर्तमान सभापति जितेन्द्र रुम्दाली राई आकांक्षी रहेका छन् ।