कांग्रेस १४औं महाधिवेशनः प्रादेशिक अधिवेशनको मतपरिणाम आउने क्रम जारी (कहाँ कसले बाजी मारे ?)

कांग्रेस १४औं महाधिवेशनः प्रादेशिक अधिवेशनको मतपरिणाम आउने क्रम जारी (कहाँ कसले बाजी मारे ?)



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको अन्तर्गत प्रादेशिक अधिवेशन सम्पन्न भएका जिल्लाहरुको मतपरिणाम आउने क्रम जारी छ । अधिवेशन सुरु भएका ६० मध्ये १७ जिल्लाको अन्तिम परिणाम आएको छ । अर्घाखाँची, पाल्पा, नुवाकोट, इलाम ,झापा, चितवन, स्याङ्जा, मोरङ, लम्जुङ र तेह्रथुमलगायतका १७ जिल्लाको अन्तिम परिणाम आइसकेको छ ।

बाँकी जिल्लाहरुमा भने मतगणना जारी छ । केही जिल्लामा हिजो मात्र निर्वाचन भएको नेपाली कांग्रेसले जनाएको छ । कतिपय जिल्लामा भने सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

संघीय संरचनामा मुलुक गएपछि पहिलो पटक ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा कांग्रेसको नयाँ कार्यसमिति चयन हुन लागेका हुन । यसअघि कांग्रेसले स्थानीय तहमा निर्देशिका बनाएर सहमतिमा प्रदेश सभा क्षेत्रीय कार्यसमिति चयन गरेको थियो । प्रदेश सभा क्षेत्रीय अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधिसमेत चयन गर्नेछ ।

तेह्रथुममा सुब्बा र चोङबाङ निर्वाचित

नेपाली कांग्रेस तेह्रथुमको निर्वाचन क्षेत्र प्रदेशसभा अधिवेशनको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न अधिवेशनले प्रदेश (क) मा नारायण सुब्बालाई निर्वाचित गरेको छ । सुब्बाले २१३ मत पाउँदा प्रतिद्वन्द्वी कमल बानियाँले १९२ प्राप्त गरे । २१ मत अन्तरले निर्वाचित भएका सुब्बाको प्याानल नै निर्वाचित भएको छ ।

उपसभापतिमा डिल्लाराम रेग्मीले २७६ र प्रलाल्द खड्काले २७४ मतले निर्वाचित भएका छन् । त्यस्तै सचिवमा राजकुमार नेपाल २४७ र सन्जिब पौडेल २३१, सहसचिवमा धनश्याम पौडेलले २९० र तुलसी भट्टराई २२४ मतले निर्वाचित भएका छन् । कुल ४२४ मतमध्ये ४०८ मत खसेको थियो । जसमध्ये ४०५ सदर र ३ मत बदर भएको निर्वाचन सहायक अधिकृत प्रकाश ढुङ्गानाले जानकारी दिए ।

त्यस्तै प्रदेशसभा (ख) अन्तर्गत भएको निर्वाचनमा भुवान सिंह चोङबाङ निर्वाचित भएका छन् । १७० मत ल्याएर निर्वाचित चोङबाङको प्यानलै विजयी भयो । उनका प्रतिद्वन्द्वी चन्द्र मादेम्बाले १११ मत ल्याएका थिए ।

त्यस्तै उपसभापतिमा पुण्यप्रसाद भटुवाल १६१ र रामबहादुर लिम्बु १६८ मतका साथ निर्वाचित भए । सचिवमा कृष्णप्रसाद बास्कोटा १८३ र तेजप्रकाश लिम्बु १७३ मतसहित विजयी भए । त्यस्तै सहसचिवमा जगबहादुर कटुवाल १९६ र विनयकुमार सुब्बाले १९३ मत ल्याएर निर्वाचित बने ।

कुल ३०९ मतमा २८६ मत खसेको थियो । खसेको मतमा २८१ सदर र ५ मत बदर भएको जिल्ला निर्वाचन अधिकृत लक्ष्मण रन्जितले जानकारी दिए ।

अधिवेशनमा प्रदेश सभा (क) अन्तर्गत म्याङलुङ नगरपालिकाबाट १७६, लालिगुराँस नगरपालिकाबाट १५१ र छथर गाउँपालिकाबाट ९७ जना गरी चार सय २४ जना क्षेत्रीय प्रतिनिधि रहेका छन् ।

त्यस्तै प्रदेशसभा (ख) आठराई गाउँपालिकाबाट ११८, फेदाप गाउँपालिकाबाट ८५ र मेन्छ्यायेम गाउँपालिकाबाट १०६ गरी ३०९ जना क्षेत्रीय प्रतिनिधि रहेका छन् । प्रदेशसभा अधिवेशनमा कुल ७३३ जना क्षेत्रीय प्रतिनिधिहरु छनोट भएका थिए । प्रदेशसभा निर्वाचन क्षेत्र अन्तर्गत तेह्रथुमको (क) र (ख) बाट सभापति १, उपसभापति २, सचिव २, खुल्ला महिला ३, खुल्ला पुरुष ७ सदस्य रहने छन् ।

त्यस्तै समानुपातिक तर्फबाट खस महिला १, जनजाति महिला १, खस आर्य खुल्ला १, आदिवासी खुल्ला २, दलित १, मधेसी,अल्पसंख्यक तथा मुस्लिमबाट १, आपाङ्ग १ गरी २५ सदस्य कार्यसमिति निर्वाचित भएको छ ।

क्षेत्रीय सभापतिमा नगरप्रमुख पराजित

कपिलवस्तु क्षेत्र नं. १ (क) को प्रदेश क्षेत्रीय सभापतिमा बाणगंगा नगरपालिकाका मेयर मंगल थारु पराजित भएका छन् । मेयर थारुलाई दुर्गा केसीले ४० मतको अन्तरले पराजित गरेका हुन् । निवर्तमान नगर सभापतिसमेत रहेका थारुलाई राम चन्द्र पौडेल समूहको समर्थन रहेको थियो ।

वाणगंगा नगरपालिकाको ओदारी माविमा सम्पन्न निर्वाचनमा प्रदेश सभा (क) मा वाणगंगाका ११ वडा सहित कपिलवस्तु नगरका ३ र मायादेवी गाउँपालिकाको १ वडा गरी ३ सय ४३ जना क्षेत्रिय प्रतिनिधिले मतदान गरेका थिए भने ३ सय ३६ मत सदर भएको थियो ।

सुनसरीमा कोइराला-पौडेल पक्षको प्यानलै विजयी

सुनसरी क्षेत्र नम्बर १ को प्रदेशसभा (क) र (ख) मा संस्थापन इतर पक्षको प्यानल नै विजयी भएको छ । शनिवार सम्पन्न निर्वाचनमा दुई क्षेत्रमा कोइराला–पौडेल पक्षधर मानिएका अनिल श्रेष्ठ र मुरारी भट्टराईको प्यानलै विजयी बनेको हो । संस्थापन पक्ष देउवाबाट उम्मेदवार बनेका मदन ढकाल र अजय कुमार राई पराजित भए । मतगणनामा कोइराला–पौडेलका अनिल श्रेष्ठले भारी मतान्तरले ढकाललाई पराजित गरे । श्रेष्ठले २६८ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी ढकालले ९६ मतमात्रै प्राप्त गरे ।

उपसभापतिमा प्रदीप शाक्य र झुमा राईले क्रमशः २३७ र २८१ मत ल्याउँदै निर्वाचित बनेका छन् भने सचिवमा युवराज शंकर र राजेन्द्र राईले क्रमशः २८० र २४४ मत ल्याउँदै विजयी बनेका छन् । यता सहसचिवमा हरिप्रसाद ओझा र रमिता श्रेष्ठले क्रमशः २१८ र २५६ मत प्राप्त गर्दै विजयी बनेका छन् ।

संस्थापन पक्षबाट उम्मेदवारी दिएका उपसभापतिले कुमार मोक्तानले ९० र मनोजकुमार सुब्बाले ९७ मत मात्रै प्राप्त गरे भने सचिवमा राजेन्द्रकुमार राईले ९९ र सुनिलचन्द्र श्रेष्ठले ९१ मत प्राप्त गरे ।

सहसचिवमा कमल भट्टराईले १०० र विष्णुमाया मोक्तानले ११२ मत प्राप्त गरे । विधानअनुसार कोषाध्यक्ष पदमा भने मनोनीत गर्ने व्यवस्था छ । प्रदेशसभा (क) मा ३७६ प्रतिनिधि रहेकामा ३६७ जनाले मात्रै मत हालेका थिए ।

यता प्रदेशसभा (ख) मा पनि भट्टराईको प्यानलै विजयी बनेको छ । धरान–१७ स्थित एन्फा एकेडेमीको हलमा सम्पन्न निर्वाचनपश्चात् मतगणनामा भट्टराईले कुल २५१ मत खसेकामा १३९ मत प्राप्त गरे । प्रत्याशी राईले १०८ मत प्राप्त गरेका थिए ।

त्यस्तै उपसभापतिमा चन्द्रबहादुर मगर (अनिल) ले १५५ र डिल्लीसेर राईले १३० मत प्राप्त गर्दै निर्वाचित बने । यता संस्थापन तर्फका अमृतबहादुर खड्काले ८२ र सन्देश श्रेष्ठले ९२ मत ल्याएका थिए । सचिव पदमा राजेन्द्र खड्काले १४४ र विजय घिमिरेले १४३ मत प्राप्त गर्दै निर्वाचित बन्दा प्रत्याशी सङ्गीता राईले १२० र सुरजप्रसाद अधिकारीले ६३ मत मात्रै प्राप्त गरेका थिए ।

त्यस्तै सहसचिव पदमा मञ्जु राईले १४४ र रोहित काफ्लेले १५१ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी विक्रम राईले ८५ र सर्वम धामीले ८१ मत मात्रै प्राप्त गर्दै पराजित भए । त्यस्तै सदस्यहरूमा पनि भट्टराई प्यानल विजयी बनेको छ ।

यता महाधिवेशन प्रतिनिधिमा पनि कोइराला-पौडेल पक्षबाटै विजयी बनेका छन् । यसअघि नगरको अधिवेशनमा पनि संस्थापन पक्ष इतरको विजयी भएको थियो। सुनसरीको क्षेत्र नम्बर १ विशेष धरान क्षेत्र पर्ने गर्दछ । धरानमा संस्थापन पक्ष कमजोर रहेको प्रष्ट देखिएको छ ।

यता निर्वाचन क्षेत्र नम्बर ४ (क) मा संस्थान पक्षका उपेन्द्र बहादुर कटुवाल निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संस्थान इतरका नवराज बस्नेतले ७६ मत पाए । निर्वाचन क्षेत्र नम्बर ४ हाल सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको चुनावी क्षेत्र हो ।

भक्तपुर क्षेत्र नम्बर १ मा खड्का सभापतिमा निर्वाचित

भक्तपुर क्षेत्र नम्बर १ (क) मा सभापति चयन भएको छ । जिल्लाको क्षेत्रको नम्बर १ (क) चाँगुनारायण प्रदेश सभापतिमा जयन्द्र खड्का विजयी भएका छन् । उनले प्रत्यासित जनक खत्री र मधुराम ढुंगानालाई क्रमश ४० र १२९ मतले पछि पारेका हुन् । खड्काले १४७ मत पाउँदा खत्रीको १०७ र ढुंगानाले १८ मत प्राप्त गरे ।

यसैगरी उपसभापतिमा रमेश केसी र दिनेश अवालले जितेका छन् । सचिवमा रोशन तिमिल्सिना र शिवहरी थापा निर्वाचित भएका छन् । संजीव पुरी र सरिता थापा उपसचिव पदमा चुनिएका छन् ।

खुलातर्फको प्रदेश प्रतिनिधि आदिवासीतर्फ लक्ष्मण श्रेष्ठ र ज्ञानेन्द्र तामाङ, यस्तै खुलातर्फको प्रदेश प्रतिनिधि खस आर्यतर्फ राजकुमार खड्का र दधिराम खड्का, यस्तै खुलातर्फको प्रदेश प्रतिनिधि खस आर्य महिलामा संगीता दुलाल चुनिएका छन् ।

यस्तै खुलातर्फको प्रदेश प्रतिनिधि खुलामा माधवप्रसाद न्यौपाने, शिवराम पुरी, गणेशप्रसाद फुयाँल, जोशना बस्नेत र सुमन तामाङ र यस्तै खुलातर्फको प्रदेश प्रतिनिधि महिलामा साधना मल्ल ठकुरी, निर्मला केसी र मिरा वाग्ले थापा चुनिएका छन् ।

लमजुङ प्रदेश ‘ख’ को सभापतिमा रघुनाथ गुरुङ निर्वाचित

लमजुङ प्रदेश ‘ख’ को सभापतिमा रघुनाथ गुरुङ निर्वाचित भएका छन् । उनले दुई जना प्रतिद्वन्द्वीलाई हराउँदै सभापतिमा निर्वाचित भएका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर मानिएका उनले निकटतम प्रतिद्वन्द्वी संस्थापन अर्थात पार्टी सभापति शेरबहादुर देउवापक्ष मानिएका जीवनचन्द्र गुरुङलाई २१७ मतान्तरले पछि पार्दै सभापतिमा निर्वाचित भएका हुन् । अर्का प्रत्यासी संस्थापनइतरकै अमृत न्यौपानेसँग निर्वाचित गुरुङको मतान्तर ३२२ छ ।

कांग्रेस स्रोतकाअनुसार पौडेल पक्षधर र नेता शेखर कोइराला पक्षधर कुरा नमिलेपछि संस्थापनइतर नै २ फरक नेताको समूह चुनावी मैदानमा होमिएको थियो । सभापतिमा निर्वाचित गुरुङले ३९६ मत ल्याएको निर्वाचन अधिकृत सोमराज चिलुवालले बताए । जीवनचन्द्र गुरुङले १७९ मत र अमृत न्यौपानेले ७४ मत ल्याए ।

उपसभापतिमा दीपेन्द्र रावलले ४०७ र सुकबहादुर विकले १७१ मत ल्याएर विजयी भएका छन् ।

सचिवमा सन्तोष गुरुङले ४ सय ५ र सुमन बसौलाले ३ सय ८२ मत ल्याएर निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी जीवनचन्द्रको टीमका रमेश केसीले १६० र शंकर विष्टले १५४ मत ल्याए । प्रतिद्वन्द्वी अमृतको टीमका टसबहादुर गुरुङले ६८ र दिलीप रानामगरले ५७ मत पाए ।

सहसचिवमा रघुनाथ गुरुङ र अमृत न्यौपाने गरी दुवै टिमले उम्मेदवार बनाएका डम्मरबहादुर गुरुङले ४४० र रघुनाथको टीमबाट उम्मेदवार बनेका रामबहादुर परियारले ३८१ मत ल्याएर विजयी भएका छन् ।

लमजुङ प्रदेश ‘क’ को सभापतिमा दरजंग गुरुङ निर्वाचित

लमजुङ प्रदेश ‘क’ को सभापतिमा दरजंग गुरुङ निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतगणनाअनुसार प्रतिद्वन्द्वी विजय गुरुङलाई ४० मतले पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् । सभापति शेरबहादुर देउवापक्ष मानिएका दरजंग गुरुङले ३२८ मत प्राप्त गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर मानिएका विजय गुरुङले २८८ मत प्राप्त गरे ।

प्रदेश ‘क’ को पदाधिकारीमा पनि दरजंग गुरुङको टीम विजयी भएको छ । उपसभापतिमा धनप्रसाद गुरुङ ३२३ मत र मंगामाया गुरुङ ३१३ मतका साथ विजयी भएका छन् । प्रतिद्वन्द्वी गोविन्द दवाडीले २५९ मत र डीलप्रसाद अधिकारीले २६५ मत ल्याएका छन् ।

सचिवमा टेकेन्द्रनाथ चिलुवाल ३३३ मत र विमल पौडेल ३०१ मतका साथ विजयी भएका छन् । प्रतिद्वन्द्वी पशुपति अधिकारीले २६० र योगेश्वर घिमिरे योगेशले २४२ मत ल्याएका थिए ।

सहसचिवमा ऋषिराज दवाडीले ३३९ मत र राजन दवाडीले २८३ मत ल्याएर निर्वाचित भए । प्रतिद्वन्द्वी दीपेन्द्र चिलुवालले २४१ र भारती गुरुङले २७० मत प्राप्त गरेको मतदान अधिकृत यज्ञराज घिमिरेले बताए । शुक्रबार भएको निर्वाचनमा प्रदेश ‘क’ मा कुल ६६७ प्रतिनिधिमध्ये ६४४ मत खसेको थियो ।

सल्यानमा दुई सुरेश प्रदेश सभापतिमा निर्वाचित

सल्यानमा दुई प्रदेश निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार भएको निर्वाचनबाट दुबै क्षेत्रमा नयाँ नेतृत्व आएको हो । निर्वाचन प्रदेश सभा (क)को लागि वागचौरको थारमारेमा र प्रदेश सभा (ख)को लागि छत्रेश्वरीको भोटेचौरमा निर्वाचन सम्पन्न भएको हो । दुवै ठाउँको निर्वाचनमा जिल्ला सभापतिका उम्मेदवार धुर्वराज पुरीको प्यानल विजयी भएको छ । ‘क’मा सुरेश चन्द र ‘ख’मा सुरेश अधिकारी सभापतिमा निर्वाचित भएका छन् ।

‘क’मा गोरख बहादुर खत्री ११ मतको अन्तरले सुरेश चन्दसँग पराजित भएका छन् । चन्दले ३१४ मत प्राप्त गरे भने खत्रीले ३०३ मत प्राप्त गरे ।

उपसभापतिमा यज्ञबहादुर खड्काले ३१७, जीवराज बोहराले २९० मत प्राप्त गरी विजयी भए । उपसभापतिमा पराजित मानबहादुर वलीले २८५, भुपाल साहुले २४९ मत प्राप्त गरे ।

सचिवमा प्रेमनारायण विकले ३२१, चमन बुढाथोकीले ३२५ प्राप्त गरी विजयी भए । सचिवमा पराजित धनेश बुढाथोकीले २३३, रुपलाल भण्डारीले २४८ मत प्राप्त गरे ।

सहसचिवमा लोकबहादुर शाहीले २८५, तेज बहादुर रावतले २७६ मत प्राप्त गरी विजयी भए । पराजित लालबहादुर बस्नेतले २४९, घनराज केसीले २७६ मत प्राप्त गरे

प्रदेश सभा (ख) मा सुरेश अधिकारीको प्यानल नै विजयी भएको छ । विरबहादुर सेजवाल ४२ मतको अन्तरले अधिकारीसँग पराजित भए । विजेता अधिकारी शारदा नगरपालिकाका नगर प्रमुख समेत हुन् । अधिकारीले ३१२ मत प्राप्त गरे भने सेजवालले २७० मत प्राप्त गरे ।

उपसभापति गिरिराज ओली ३१५, ऋषिराम खत्री २६९ मतसहित विजय भए । सचिवमा अनिल सिह २८१, श्याम कृष्ण महातरा २९५ मत र सहसचिव प्रीयबत्र श्रेष्ठ ३०१, होमसिङ बोहरा २९८ मत प्राप्त गरी विजयी भए ।

पराजितहरुमा उपसभापतिमा पेशल सिङ डाँगी २१४, पूर्ण बहादुर भण्डारीले २४७ मत प्राप्त गरे । सचिवमा शोभाकर राणा २४८, मेघराज भण्डारी २६२ मतसहित पराजित भए । सहसचिवमा ढाक बहादुर चन्द २४० र रोहित देवकोटाले २३१ मत प्राप्त गरेर पराजित भए ।

मोरङमा संस्थापनभन्दा कोइराला–पौडेल समूह बलियो

मोरङमा संस्थापनभन्दा कोइराला–पौडेल समूह बलियो देखिएको छ । १२ प्रदेशसभा निर्वाचन क्षेत्रमा देउवा पक्षीय दुई जना सभापतिमात्र विजयी भएका छन् । मोरङका १२ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये चारवटामा सर्वसम्मत भएपछि थप आठ वटामा सभापति चयन गर्न शनिबार निर्वाचन भएको थियो । साँझदेखि नै मतगणना आरम्भ भएको थियो । आइतबार बिहान प्राप्त मत परिणामअनुसार मोरङ निर्वाचन क्षेत्र नम्बर १ ‘क’ मा नरबहादुर तामाङ र ‘ख’ मा राजकुमार लामा निर्वाचित भएका छन् । लामा सर्वसम्मत भएका हुन् । यसैगरी निर्वाचन क्षेत्र नम्बर २ ‘क’ मा कन्यैहालाल राजवंशी र ‘ख’ देवेन्द्र बस्नेत विजयी भएका छन् । कन्हैयालाल सर्वसम्मत चयन भएका हुन् ।

निर्वाचन क्षेत्र नम्बर ३ ‘क’ गंगा याक्खा र ‘ख’ जगतलाल चौधरी, क्षेत्र नम्बर ४ ‘क’ मा एकाराम माझी र ‘ख’ मा सुबोध निरौला निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र नम्बर ५ ‘क’ अचानु खाँ गन्गाई र ‘ख’ जितु साह सर्वसम्मत चुनिएका छन् । कांग्रेस नेता अमृत अर्यालको समर्थन र सहयोगमा चयन भएका उनीहरु देउवा पक्षकारुपमा चिनिन्छन् ।

मोरङको निर्वाचन क्षेत्र नम्बर ६ ‘क’ दिपक भगत र ‘ख’ मधुवाबु तिवारी विजयी भएका छन् । निर्वाचनबाट प्रदेश निर्वाचन क्षेत्रको सभापतिसहित पदाधिकारी निर्वाचति भएको मोरङ कांग्रेसका सचिव मोदराज घिमिरेले जानकारी दिए ।

घिमिरेकाअनुसार मोरङको मत परिणामअनुसार जिल्लामा पौडेल–कोइराला समूह बलियो देखिएको छ । निर्वाचनबाट हरेक निर्वाचन क्षेत्रबाट १६ जना प्रदेश अधिवेशन प्रतिनिधि चयन भएका छन् । जिल्लाबाट जम्मा १९२ जना अधिवेशन प्रतिनिधिले प्रदेश पदाधिकारी चयन गर्न मत खसाल्ने छन् ।

मोरङ कांग्रेसकाअनुसार जिल्लामा जम्मा ३५५१ क्षेत्रीय प्रतिनिधि विजयी भएका थिए । प्रदेश प्रतिनिधि र पदाधिकारी चयन गर्न तीमध्ये करिब ९९ प्रतिशतले मत खसालेको पार्टी सचिव घिमिरेले बताए ।