डडेल्धुरा कांग्रेस सभापतिमा साउँद, आरजु राणा महाधिवेशन प्रतिनिधि

डडेल्धुरा कांग्रेस सभापतिमा साउँद, आरजु राणा महाधिवेशन प्रतिनिधि



डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुरा सभापतिमा भीमबहादुर साउँद विजयी भएका छन् । सातौँ जिल्ला अधिवेशनमा प्रत्यासी चूडामणि ठकुराठीलाई पराजित गर्दै साउँद विजयी भएका हुन् । निर्माण व्यवसायीसमेत रहेका साउँद परशुराम नगरपालिकाका मेयर पनि हुन् ।

साउँदले ७३४ मत प्राप्त गरेका छन् भने ठकुराठीले ७६ मत प्राप्त गरे । उपसभापतिमा लक्ष्मीप्रशाद अवस्थी र डिल्लीराज जोशी चयन भएका छन् भने सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन् ।

उपसभापतिद्वय निर्विरोध भएका हुन् भने सचिव पदमा भने निर्वाचन भएको थियो । सचिव पदका उम्मेदवार चेतराज भट्ट भने पराजित भए । सहसचिवमा प्रेमराज महर र गोविन्दराज बोहरा निर्विरोध निर्वाचित भएका छन् ।

सर्वसम्मत चयन हुनेमा खुला सदस्यमा अमरगढी नगरपालिकाबाट दुर्लभसिंह झुकाल, हरिप्रसाद अवस्थी र विस्नादेवी गैराल रहेका छन् । परशुराम नगरपालिकाबाट अर्जुनसिंह साँउद, दलबहादुर साउँद र बसन्ती देवी पाण्डेय छन् ।

आलिताल गाँउपालिकाबाट प्रेमबहादुर पातली र गोमतीदेवी बोहरा चयन भएका छन् भने भागेश्वर गाँउपालिकाबाट उपेन्द्र जोरा र शान्तिदेवी जैशी चयन भए ।

अजयमेरु गाँउपालिकाबाट रामबहादुर विष्ट र ईश्वरी चन्द चयन हुँदा नवदुर्गा गाउँपालिकाबाट नरबहादुर बिष्ट र उत्तरा रोश्यारा छानिएका छन् । गन्यापधुरा गाउँपालिकाबाट चन्द्रादेवी विष्ट चयन भएकी छन् ।

महिला खसआर्य तर्फ पशुरपतिकुमारी बोहरा, जला विष्ट बोगटी, बसन्ती भण्डारी र लक्ष्मी पनेरु सर्वसम्मत भएका छन् । दलित महिला सदस्यमा दिपाकामी सर्वसम्मत भएकी छन् भने जनजातीतर्फ बसन्ती देवी थापा सर्वसम्मत निर्वाचित भएकी छन् ।

डडेल्धुराबाट महाधिवेशन प्रतिनिधीमा आरजू राणा देउवा सर्वसम्मत चयन भएकी छन् । खुला महिलाबाट राणासहित चार महिला सर्वसम्मत महाधिवेशन प्रतिनिधी चयन भएका हुन् । सरस्वती खड्का, कौशिला भट्ट र कलावती देवी बोहरा पनि सर्वसम्मत महाधिवेशन प्रतिनिधि भएका छन् ।

दलित महिला समावेशी महाधिवेशन प्रतिनिधिमा हरिनादेवी कामी र दलित पुरुष समावेशी महाधिवेशन प्रतिनिधिमा सन्तोष जैरु सर्वसम्मत भए । समावेशी जनजाति महाधिवेशन प्रतिनिधिमा बलबहादुर गुरुङ र समावेशी अपांग अल्पसंख्यकतर्फ जय प्रकाश भट्ट सर्वसम्मत भएकाे निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए ।