युभेन्ट्सको पोष्टमा चेल्सीको चार गोल, समूहकाे शीर्ष स्थानमा उक्लियाे

युभेन्ट्सको पोष्टमा चेल्सीको चार गोल, समूहकाे शीर्ष स्थानमा उक्लियाे



लन्डन । इटाली सिरी ए को महारथी क्लब युभेन्ट्सलाई ४ गोल गर्दै इंग्लिस क्लब चेल्सी युइएफए च्याम्पियन्स लिगको समूह ‘एच’ मा शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा घरेलु टोली चेल्सीले युभेन्ट्सलाई ४–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको सहज जितमा ट्रिभोअ चालोवाह, रिस जेम्स, कलुम हड्सन ओडोइ र टिमो वेर्नरले १/१ गोल गरे ।

लियोनार्दाे बोनुचीको कप्तानीमा मैदान उत्रिएको युभेन्ट्सले पहिलो हाफमा १ गोल ब्यहोर्दा दोस्रो हाफमा ३ गोल ब्यहोरकेो थियो । समूह ‘एच’बाट दुबै टोली यसअघि नै अन्तिम १६ मा स्थान बनाइसकेका छन् । जितपछि चेल्सी शीर्ष स्थानमा फर्कियो ।

समूह ‘एच’कै अर्काे खेलमा माल्मो र जेनिथले १–१ गोलको बराबरी खेले । समूह ‘एच’मा ५ खेलबाट समान १२ अंक भएपनि हेट टु हेटका आधारमा चेल्सीले युभेन्ट्सलाई पछि पारेको छ । जेनिटको ४ अंक रहँदा माल्मोको १ अंक रहेको छ ।

रोनाल्डोको गाेलमा म्यानचेष्टर युनाइटेड अन्तिम १६ मा
मुख्य प्रशिक्षक ओले गनर सोल्सायरलाई बर्खास्त गरेपछिको पहिलो खेलमै इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड विजयी हुँदै युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थानमा पुगेकाे छ ।

मंगलबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब भिल्लारियलमाथि २-० को सहज जित निकाल्दै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको हो ।

युनाइटेडको जितमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र जाडोन सान्चोले १-१गोल गरे । खेलको ७८औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए । रोनाल्डोको यो ८०० औँ खेल हो ।

९० मिनेटपछि थपिएको समयमा जाडोन सान्चोले गोल गर्दै युनाइटेडको जित पक्का गरे । जितसँगै अन्तरिम प्रशिक्षक माइकल क्यारिकले पहिलो प्रशिक्षणमा युनाइटेडलाई जित दिलाउन सफल भए ।

समूह ‘एफ’ को अर्को खेलमा योङ ब्वाइज र एटलान्टाले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । समूहमा एक खेल बाँकी रहँदा युनाइटेड ५ खेलबाट १० अंक बनाएर शीर्ष स्थानमा छ । पराजित भिल्लारियलसँग ७ अंक छ । एटलान्टाको ६ तथा योङ ब्वाइजको ४ अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

युनाइटेड नकआउट चरणमा स्थान बनाउँदा भिल्लारियल र एटलान्टालाई अर्काे चरणमा प्रवेश गर्ने मौका रहेको छ ।

बायर्नलाई ८ अंकको अग्रता
ड्यनामो केईभलाई पराजित गर्दै जर्मन बुण्डेसलिगा क्लब बायर्न म्युनिखले युईएफए च्याम्पियन्स लिगको समूह ‘इ’ मा ८ अंकको अग्रता बनाएको छ । मंगलबार राति भएको खेलमा बायर्नले ड्यानामो केइभलाई २–१ गोलले परातिज गरेको हो । राति नै भएको खेलमा स्पेनिस क्लब बार्सिलोना बेन्फिकासँग गोल रहीत बराबरीमा रोकिएपछि बायर्नले समूहमा ८ अंकको अग्रता लिएको हो । बायर्नले यसअघि नै प्रतियागिताको नकआउट चरणमा स्थान बनाइसकेको छ ।

बार्सिलोनाले भने अन्तिम खेलबाट नै अन्तिम १६ को स्थान बनाउने छ । अन्तिम खेलमा बार्सिलोनाले बायर्नको सामना गर्नेछ । बेन्फिका र ड्यनामो भिड्नेछन् । यस खेल बराबर भए अथवा बार्सिलोना आफ्नो खेलमा विजयी भए अन्तिम १६ मा स्थान बनाउनेछ ।

मंगलबार भएको खेलमा भ्रमणकारी टोली बायर्नलाई जिताउन रोबर्ट लेवाण्डोस्की र किङस्ले कोम्यानले समान १/१ गोल गरे । केइभको लागि डेनिस गार्मन्सले १ सान्त्वना गोल गरे । पहिलाे पटक पूर्वखेलाडी जाभि हर्नाण्डेजको प्रशिक्षणमा च्याम्पियन्स लिग खेलेको बार्सिलोना बेन्फिकासँग गोलरहित बराबरीमा रोकियो । जितले बार्सिलोना नक आउट चरणमा स्थान बनाउने थियो । बराबरीसँग उसले अर्काे खेल कुर्नपर्ने भएको छ । समूह ‘इ’ मा बायर्नको ५ खेलबाट १५ अंक छ । बार्सिलोनाको ७ अंक रहँदा बेन्फिकाको ५ अंक रहेको छ । पुछारमारहेका केईभको १ अंक छ ।