कांग्रेस महाधिवेशन : झापामा सिटौला कि विश्वप्रकाश हाबी ?

कांग्रेस महाधिवेशन : झापामा सिटौला कि विश्वप्रकाश हाबी ?



झापा । झापामा नेपाली कांग्रेसका दुई ‘हेब्बी वेट’ नेता छन्- कृष्ण प्रसाद सिटौला र विश्वप्रकाश शर्मा । यी नेता तल्लो तहदेखि केन्द्रसम्म प्रतिस्पर्धामा छन् । सिटौला कांग्रेसका पूर्वमहामन्त्री हुन् । उनी अहिले पार्टीभित्र ‘तेस्रो धार’ भन्दै गुट चलाउँदै आएका छन् ।

शर्मा कांग्रेसका प्रवक्ता हुन् । आउँदो महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन्, शर्माले । विगतमा सभापति शेरबहादुर देउवा समूहका शर्मा अहिले देउवासँग खटपट छ भन्ने चर्चा हुन्छ । अहिले उनी उपसभापति विमलेन्द्र निधि नजिक भएको चर्चा छ । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला तहमा अहिले धमाधम अधिवेशनका कार्यक्रम भइरहेका छन् ।

झापामा भने मुख्य प्रतिस्पर्धामा सिटौला समूह र विश्वप्रकाश समूह नै देखिएको छ । केन्द्रमा जस्तोसुकै समीकरण भए पनि झापाको समीकरण भने रोचक छ । विगतमा देउवानिकट मानिएका केशवकुमार बुढाथोकीले झापाको कांग्रेस निर्वाचनमा भने विश्वप्रकाशको साथ छाडेर सिटौला समूहलाई सघाएका छन् । केही उम्मेदवारको हकमा झापामा रामचन्द्र पौडेल समूहकी सरिता प्रसाईं समूहले विश्वप्रकाशका उम्मेदवारलाई समर्थन गरेका छन् । झापामा यस पटक निकै रोचक रूपमा कांग्रेसको निर्वाचन सम्पन्न भएको छ । विगतमा सिटौला समूहमा रहेका लोकराज ढकालले पनि शर्मा समूहलाई साथ दिए । उनी रेडक्रस सोसाईटी झापाका अध्यक्षसमेत हुन् ।

झापामा संघीय निर्वाचन क्षेत्रअन्तर्गत पाँच निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रअन्तर्गत १० वटै निर्वाचन क्षेत्रमा चुनावी प्रक्रियाबाट नेतृत्व चयन भइसकेको छ । प्रदेश अधिवेशन र महाधिवेशन प्रतिनिधिको पनि टुंगो लागिसकेको छ । अहिले १० मंसिरमा हुने जिल्ला कार्यसमितिको निर्वाचनले झापामा कांग्रेसको अन्तरिक राजनीति गर्माएको छ । सिटौला समूहबाट जिल्ला सभापतिमा देउकुमार थेपे र शर्मा समूहबाट राम कट्टेलले उम्मेदवारी दिएका छन् । यद्यपि, तल्लो तहबाट भएको प्रतिस्पर्धाअनुसार सिटौला समूह झापामा हाबी छ । प्रदेशस्तरीय १० निर्वाचन क्षेत्रमध्ये सिटौला समूहकाले पाँच ठाउँमा जित हात पारेका छन् ।

यस्तै, शर्माले तीन ठाउँमा जित हात पारे भने दुई जना तटस्थ छन् । क्षेत्र नम्बर १ ‘क’ का हरिबहादुर बुढाथोकी विगतमा शर्मा समूहमा थिए । अहिले उनले सिटौला समूहको समर्थनमा निर्वाचन जितेका हुन् । त्यसकारण उनी तठस्थ जस्तै देखिन्छन् । यस्तै, निर्वाचन क्षेत्र ४ ‘क’ का सभापति विगतमा शर्मासँग नजिक थिए । तर, प्रदेश क्षेत्रीय सभापतिमा सिटौला समूहको सहयोगमा सर्वसम्मत निर्वाचित भएपछि उनी तटस्थ छन् ।

झापा- १ ‘ख’ को क्षेत्रीय सभापतिमा शर्मा समूहका सन्तोष न्यौपाने विजयी भएका छन् । क्षेत्र नम्बर २ ‘क’ मा लक्ष्मीप्रसाद आचार्य र क्षेत्र नम्बर २ ‘ख’मा किरण श्रेष्ठ निर्वाचित भएका छन् । उनीहरू दुवै सिटौला समूहका हुन् । क्षेत्र नम्बर ३ ‘क’ चिन्तामणि खरेल र क्षेत्र नम्बर ३ ‘ख’ मा तुलसीप्रसाद ओली विजयी भएका हुन् । उनीहरू दुवै सिटौला समूहका हुन् । यस्तै, क्षेत्र नम्बर ४ ‘ख’ मा सिटौला समूहका ख्यामराज सिटौला विजयी भएका छन् । क्षेत्र नम्बर-५ ‘क’ मा जीवनकुमार र क्षेत्र नम्बर ५ ‘ख’ मा रवि केसी न्यौपाने विजयी भएका छन् । उनीहरू दुवै विश्वप्रकाश शर्मा समूहका हुन् ।

यस्तै, संघीय निर्वाचन क्षेत्रअन्तर्गत झापामा रहेका पाँच निर्वाचन क्षेत्रमध्ये सिटौला समूहले तीन र विश्वप्रकाश समूहले दुईवटा निर्वाचन क्षेत्रमा सभापतिको जित हात पारेको छ । क्षेत्र नम्बर १ को सभापतिमा शर्मा समूहका इन्द्रबहादुर बुढाथोकी, क्षेत्र नम्बर २ मा सिटौला समूहका खगेन्द्र मैनाली, क्षेत्र नम्बर ३ मा सिटौला समूहकै गणेश पोखरेल, क्षेत्र नम्बर ४ मा सिटौला समूहका जयनारायण साह र क्षेत्र नम्बर ५ मा विश्वप्रकाश समूहका ढुण्डीराज भण्डारी निर्वाचित भएका हुन् ।

यस्तै, महाधिवेशनप्रतिनिधितर्फ पनि शर्मा समूहभन्दा सिटौला समूह नै अघि छ । झापामा तुलनात्मक रूपमा सिटौला समूह बलियो देखिन्छ ।