नेकपा एमालेको १०औँ महाधिवेशन आजदेखि चितवनमा

नेकपा एमालेको १०औँ महाधिवेशन आजदेखि चितवनमा



चितवन । नेकपा एमालेको १०औँ महाधिवेशन आजदेखि चितवनमा शुरु हुँदैछ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको आज चितवनको नारायणी नदी किनारमा तयार पारिएको विशेष मञ्चमा उदघाटन गर्ने कार्यक्रम छ । महाधिवेशनको उद्घाटन र बन्दसत्र सञ्चालनका लागि सबै तयारी सकिएको सो पार्टीले जनाएको छ । महाधिवेशन उद्घाटन समारोहमा करिब ५ लाख मानिसको उपस्थिति रहने सो पार्टीले जनाएको छ ।

महाधिवेशन उदघाटन नारायणी नदी किनारमा सजिसजाउ मञ्चमा हुने छ भने बन्द सत्र पर्यटकीय क्षेत्र सौराहामा गर्ने कार्यक्रम छ । देशकै सबैभन्दा पहिलो पार्टी नेकपा एमालेको यस महाधिवेशनलाई अहिले सबै कोणबाट महत्वपूर्ण राजनीतिक घटनाका रुपमा हेरिएको छ । अघिल्लो निर्वाचन ताका तत्कालीन माओवादी केन्द्रसँग चुनावी तालमेलसँगै पार्टी एकिकरणसम्म गरेर तत्कालीन नेकपा बनेको एमालेले यसबीचमा धेरै प्रकारका राजनीतिक उतार चढाव व्यहोरेको छ ।

सर्वोच्चको फैसलासँगै अलग राजनीतिक बाटोमा अग्रसर एमालेले यसवीचमा पार्टी विभाजनको सामना समेत गरेको छ । यी विभिन्न राजनीतिक घटनाक्रमपछि हुन गइरहेको एमालेको यस महाधिवेशनले लिने निर्णय देशकै लागि चासोको विषय भएको हो । नेतृत्व चयनमात्र नभएर पार्टीले लिने नयाँ सिद्धान्त, नीति र दर्शनका लागि समेत यो महाधिवेशनको बिशेष महत्व रहेको विश्लेषण राजनीतिक क्षेत्रमा छ ।

महाधिवेशनमा सहभागिताका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली सहित पार्टीका सबै नेता तथा देशभरका कार्यकर्ताहरु चितवन पुगेका पार्टी प्रचार बिभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । एमालेको महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सम्बोधन गर्ने कार्यक्रम छ । उद्घाटन सत्रमा देश विदेशका विभिन्न नेताहरुले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।