एकताबद्ध भएर नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष ओलीको घोषणा

एकताबद्ध भएर नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष ओलीको घोषणा



काठमाडौं । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । नारायणगढस्थित नारायणी नदी किनारमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुभएको हो । महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि र विदेशका विभिन्न पार्टीका प्रतिनिधिले शुभकामना दिए ।

महाधिवेशन उदघाटन कार्यक्रममा अध्यक्ष ओलीले एकताबद्ध भएर नयाँ नेतृत्व चयन गर्ने बताए । ‘जसरी भव्यरुपमा महाधिवेशन उदघाटन भएको छ,’ उनले भन्नुभयो, ‘भोलि बन्द सत्र हुन्छ, पर्सी एकताबद्ध भएर नयाँ नेतृत्व चयन गर्छौं ।’

अध्यक्ष ओलीले एमालेलाई नभई देशको विकास गर्न बहुमत आवश्यक रहेको बताए । ‘एमालेलाई होइन, देश विकास गर्न बहुमत दिनुस्,’ उनले भन्नुभयो, ‘एमाले देश र लोकतन्त्र संस्थागत गर्न आवश्यक छ ।’

ओलीले जनादेशबाट प्राप्त अधिकारको रक्षाका लागि पनि एमाले चाहिने दाबी गरे । ‘देशलाई एकजुट बनाएर समस्या समाधानका लागि अघि बढ्ने काम अब एमालेबाट हुन्छ । परमादेशबाट सरकार फेरिने असंवैधानिक कुरामा नजाउँ जनताका बीचमा जाउँ भनेका थियौं, अरु कतिपय दल डराए हामी गयौं । चुनावहरू आउँदैछ म भन्न चाहन्छु हामी अब चुनावको तयारी तर्फ जाँदैछौं जनमताको तयारीमा छौं । एकल बहुमत ल्याउनुपर्छ । एमालेका लागि होइन देश बनाउन एकल बहुमत चाहिएको छ,’ उनको भनाइ छ ।