निधिलाई पहिलो गाँसमै ढुंगा, उनकाे उम्मेदवार धनुषामै पराजित

निधिलाई पहिलो गाँसमै ढुंगा, उनकाे उम्मेदवार धनुषामै पराजित



जनकपुरधाम । पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको अर्को दिन शुक्रबार नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई पहिलो गाँसमै ढुंगा लागेको छ ।

प्रदेश सभा क्षेत्रीय अधिवेशनअन्तर्गत धनुषा क्षेत्र नम्बर १ (ख) मा आज भएको निर्वाचनमा निधि समर्थक पराजित भएका छन् । उनको समर्थनमा उठेका उम्मेदवार मदन यादव अध्यक्षमा नराम्ररी पराजित भएका हुन ।

सभापतिमा ऋषिकेश लामा निर्वाचित भएका छन् । उनी पार्टी सभापति शेरबहादुर देउवाको समर्थनमा उम्मेदवार बनेका थिए । उनलाई नेता आनन्द ढुंगानाको पनि आशिर्वाद थियो ।

दुई दिनदेखि सहमति जुटाउन प्रयास गरिए पनि अन्ततः निर्वाचनमै जाने निर्णय भएको थियो । बिहीबार राति सम्पन्न मतदानबाट लामाले २ सय ५७ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी यादवले ५७ मत ल्याएका छन् ।

यसैबीच, धनुषा १ (क)बाहेक ४ (ख) मा वासुदेव पौडेल सर्वसम्मत निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृत अरूणकुमार ज्ञवालीले बताए । दुई क्षेत्रमा आपसी सहमतिअनुसार निर्विरोध निर्वाचित भएको छ भने ३ (क) र (ख) दुवैमा सहमति जुटाउने प्रयास जारी रहेको छ । यसबाहेक क्षेत्र नम्बर २ को (क) र (ख) तथा ४ (ख) मा पनि मतदानबाट नेतृत्वको टुंगो लगाइने जिल्ला सचिव सन्तोष यादवले बताएका छन् । क्षेत्र नम्बर १ (क) मा जगतसुन्दर साह निर्वाचित थिए ।