काँग्रेस महाधिवेशन: ५३ जिल्लामध्ये २८ जिल्ला सभापति देउवा पक्षमा

काँग्रेस महाधिवेशन: ५३ जिल्लामध्ये २८ जिल्ला सभापति देउवा पक्षमा



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबार बेलुकासम्मको मत परिणाम अनुसार संस्थापन देउवा शेरबहादुर देउवा पक्षले २८ जिल्ला सभापतिमा आफ्नो वर्चश्व स्थापित गरेको छ । संस्थापन इतर पक्षले भने २४ जिल्ला सभापति जितेको छ ।

मतपरिणाम अनुसार सल्यानमा केशरबहादुर विष्ट, डोल्पाबाट दीपेन्द्र शाही, डडेल्धुरामा भीमबहादुर साउद, जुम्लामा कर्णबहादुर शाही, जाजरकोटमा बेदराज सिंह, पाँचथरमा रुपनारायण जवेगु, लमजुङमा डा.टकबहादुर गुरुङ, डोटीमा नरेन्द्रबहादुर सिंह संस्थापन समूहबाट सभापति निर्वाचित भएका छन् । ओखलढुंगामा तेजेन्द्र खनाल संस्थापन समूहबाटै सभापति निर्वाचित बनेका छन् । यता पर्वतमा युवराज जोशी विजयी भएका छन् । यसैगरी रुकुम पश्चिममा प्रेमप्रकाश ओली सर्वसम्मत सभापति बनेका छन् । उनी पनि देउवा निकट हुन् ।

रुपन्देहीमा पनि संस्थापन पक्षका रामकृष्ण खाँण सर्वसम्मत रुपमा जिल्ला सभापति निर्वाचित बनेका छन् । यस्तै कञ्चनपुरमा देउवा पक्षका पदम बोगटी विजयी भएका छन् । ललितपुरमा पनि देउवा समूहकै जितेन्द्रकुमार श्रेष्ठ विजयी भए । इलाममा पनि संस्थापन समूहबाटै डम्मर खड्का जिल्ला सभापति निर्वाचित बने ।

यस्तै ताप्लेजुङमा गजेन्द्रप्रसाद तुम्याहाङ, हुम्लामा मोहनविक्रम सिंह, रामेछापमा पूणर्बहादुर तामाङ (कान्छाराम), मुगुमा ऐनबहादुर शाही, बझाङमा खडक बोहरा, म्याग्दीमा खमबहादुर गर्बुजा र मनाङमा शंकर गुरुङ पनि संस्थापन समूहबाटै जिल्ला सभापति चयन भएका छन् । कास्कीमा किशोरदत्त बराल, सुर्खेतमा खड्क पोखरेल, तनहुँमा जितप्रकाश आले र काभ्रेमा तीर्थ लामा पनि संस्थापन समूहबाटै सभापति निर्वाचित भए ।

जाजरकोट, सुर्खेत, रुपन्देही र मनाङ सभापतिमा संस्थापन पक्षकै सर्वसम्मत सभापति भएका थिए । यता नुवाकोटमा रमेश महतले पनि संस्थापन समूहको सहयोगमा सभापति जितेका छन् । उदयपुरमा संस्थापन पक्षकै हिमाल कार्की जित नजिक छन् । ५० मत गन्न बाँकी हुँदा संस्थापन इतरका विदुर बस्नेत भन्दा कार्की एक सय ५० मतले कार्की अघि छन् । स्याङ्जा सभापतिमा निर्वाचित भएका राजु थापासमेत संस्थापन निकट हुन् । झापामा सिटौला पक्षका देउकुमार थेवे निर्बाचित भएका छन् ।

यस्तै संस्थापन इतर समूहबाट काठमाडौंमा रामचन्द्र, प्रकासमान र गगन थापा गठवन्धनका सबुज कृष्ण बानियाले जित निकालेका छन् । पौडेल पक्षबाटै दार्चुलामा ललितसिंह बोहोरा, दाङमा शंकर डाँगी, रोल्पामा किशोर आचार्यले संस्थापन इतरबाटै जिल्ला सभापतिमा जितेका छन् । पौडेल पक्षबाटै खोटाङमा विष्णुकुमार राई जिल्ला सभापति निर्वाचित भएका छन् भने पश्चिम नवलपरासीमा इतर समूहबाटै अर्जुनकुमार पोखरेल जिल्ला सभापति चुनिएका छन् ।

यस्तै पाल्पाबाट हिमालदत्त श्रेष्ठले पनि पौडेल समूहबाटै निर्वाचित भए । दैलेखमा मणीराम रेग्मी, संखुवासभामा दीपक खड्का, कालीकोटमा अम्मबहादुर शाही, दोलखामा बर्मा लामा, मुस्ताङमा रोमी गौचन, रुकुम पूर्वमा केशरमान रोका, गोरखामा नन्दप्रसाद न्यौपाने, बाजुरामा रामसिंह रावल पनि पौडेल समुहबाटै जिल्ला सभापति बनेका छन् ।

यसैगरी अर्घाखाँचीमा केशव श्रेष्ठ, प्यूठानमा विष्णुकुमार गिरी, बैतडीमा चतुरबहादुर चन्द, भोजपुरमा विनोद बान्तवा र तेह्रथुममा अर्जुनबहादुर तुम्बाहाङ्फे पनि पौडेल समूहबाटै निर्बाचित भए । सुनसरीमा पनि पौडेल पक्षकै केदार अधिकारी, धादिङमा रामनाथ अधिकारी, गुल्मीमा खिलध्वज पन्थी र दैलेखमा मणिराम रेग्मी विजयी भए ।

अन्य केही जिल्लामा समेत नेतृत्व चयनको प्रक्रिया जारी छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ७७ मध्ये ५३ जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको हो । केही जिल्लामा भने सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ ।