स्वप्नशील नेताको दोस्रो इनिङ्स

स्वप्नशील नेताको दोस्रो इनिङ्स



काठमाडौं । एमालेको १०औं महाधिवेशनबाट भारी मत ल्याएर अध्यक्षमा निर्वाचित भएका केपी ओली भन्थे–‘एउटै कक्षा दोहोर्‍याउने मेरो बानी छैन ।’ राजकीय जिममेवारीको सन्दर्भमा उनले दिएको यो अभिव्यक्ति पार्टी सत्तामा लागू नभए पनि निवर्तमान उपाध्यक्ष भीम रावललाई भारी मतले हराउँदा पार्टीभित्र उनको एकछत्र राज देखिएको छ ।

११ फागुन २००८ मा तेह्रथुमको इवामा जन्मिएका ओलीले डेढ वर्षको उमेरमै आमा गुमाए । लामो जेल जीवन बिताएका ओलीका दुवै मिर्गौला प्रत्यारोपण गरिएका छन् । पाँच वर्षकै उमेरमा बुवा मोहनप्रसादसँगै झापा झरेका ओलीको युवा अवस्थाबाटै राजनीतिक यात्रा उकालो लाग्यो ।

२०४७ सालपछि दुई कम्युनिस्ट घटक माले र मार्क्सवादी मिलेर बनेको एमालेको राजनीतिको केन्द्रमा आएका ओली ३ जेठ २०५० को दासढुंगा दुर्घटनामा तत्कालीन पार्टी महासचिव मदनकुमार भण्डारीको मृत्युपछि एकाएक एमालेको राजनीतिको केन्द्रमा आउन सफल भए ।

‘झापा विद्रोह’ का नाममा उनी १४ वर्ष जेल बसे । उनीसँगै जेल बसेकाहरूका अनुसार जेलमा बस्दा बाहिरी पुस्तकहरू अत्यन्त पढ्ने गर्थे ओली, जसकारण उनमा सामान्य ज्ञान धेरै क्षेत्रको रह्यो । धर्म, संस्कृति, राजनीति, कूटनीति, अर्थशास्त्र, भूगोल आदिका बारे भेटेका सामग्री पढ्ने गर्थे ओली ।

ओलीले औपचारिक अध्ययनमा कुनै तहको प्रमाणपत्र नलिए पनि चारवटा मानार्थ विद्यावारिधि उपाधि प्राप्त गरेका छन् । त्यसो त उनीसँग शास्त्रदेखि राजनीतिसम्मका धेरै प्राज्ञिक कुराहरूबारे ‘राम्रो’ ज्ञान छ । कोरोना महामारीको पछिल्लो अवस्थामा कोरोनाबाट बच्न उनले दिएका ‘ज्ञान’ र ‘वैद्यशास्त्रीय विधि’ले त उनमा चिकित्सकीय र आयुर्वेद विद्यासमेत प्रशस्त रहेको देखिन्छ ।

ओलीको पारिवारिक आर्थिक अवस्था निम्नस्तरको थियो । झापा भरेपछि कन्काईको बाढीले ओली परिवारको घर बगाइदिएपछि उनीहरू सुकुम्बासी बने । ओलीलाई केही समय ठूलोबुबा र मावली हजुरबुबाले पाले ।

किशोरावस्थामा ओली शहीद रामनाथ दाहालको घरमा काम गरेर विद्यालय जान थाले । उनले १० कक्षासम्मको औपचारिक शिक्षा झापामै लिए । ओली २०२३ सालमा माक्र्सवादी अध्ययन दलको सदस्य बनेर कम्युनिस्ट राजनीतिमा आए ।

राजनीतिक यात्रा
२०२३ सालमा माक्र्सवादी अध्ययन दलमा संगठित भई प्रशिक्षण प्राप्त गरेका ओलीले २०२५ सालदेखि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीमा आबद्ध भई नेतृत्व गरेका थिए ।

उनले २०२६ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए भने २०२६ सालमै तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको उपसचिवको जिम्मेवारी निर्वाह गरेका थिए ।

२०२७ वैशाखमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र पूर्वकोसी प्रान्तीय कमिटी एकीकरण भयो । २०२८ वैशाखमा तत्कालीन पूर्वकोसी प्रान्तीय कमिटीबाट नेपाल कम्युनिस्ट पार्टी अलग भयो ।

ओलीले २०२९ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुखका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए ।

१४ वर्षे जेल जीवन
पहिलो पटक १६ फागुन २०२७ मा झापाबाट गिरफ्तार भएका थिए ओली । गिरफ्तारीपछि झापा पुलिस थानामा राखियो उनलाई । उनी पटक पटक समातिँदै र छाडिँदै गरे प्रहरीबाट । २०२७ देखि २०३० सालका बीचमा १० पटकभन्दा बढी गिरफ्तारीमा परे ओली ।

झापा काण्ड अर्थात् किसान विद्रोहका समयमा झापाका जमिन्दार धर्मप्रसाद ढकालको हत्या भयो । त्यसपछि उठेको विद्रोहमा राज्यले धरपक्कड सुरु ग¥यो । पछि २३ असोज २०३० देखि लामो समय झन्डै डेढ दशक जेल परे ओली ।

गौर थानामा दुई दिन राखेपछि उनलाई वीरगन्ज जेल चलान गरियो । ८ मंसिर २०३० मा भद्रगोल जेल काठमाडौँमा ल्याइयो । र, त्यसको तीन दिनपछि ११ मंसिरमा सेन्ट्रल जेल गोलघरमा पुर्‍याइयो ।

११ मंसिर २०३० देखि १६ वैशाख २०३२ सम्म सेन्ट्रल जेल गोलघरमा रहेका ओलीलाई त्यसपछि गोलघरबाहिर निकालियो ।

२०३३ साउनमा नख्खु जेल चलान गरिएका ओलीलाई २०३३ मंसिरमा पुनः केन्द्रीय कारागार गोलघरमै लगियो । झन्डै साढे दुई वर्ष उनी गोलघरमै बसे । २०३६ जेठमा मात्र उनलाई गोलघरबाहिर निकालियो ।

२०३७ चैतमा पुनः नख्खु जेल चलान गरियो भने ३ माघ २०३९ मा पोखरा जेल पुर्‍याइयो ।

२०४२ कात्तिकमा पोखराबाट स्याङ्जा जेलमा लगेर ८ मंसिर २०४३ मा हनुमान ढोका जेल चलान गरियो र १२ माघ २०४३ मा भद्रगोल जेल चलान गरियो ।

११ असार २०४४ मा भद्रगोल जेलबाट रिहा भए ओली । जेलबाट छुटेपछि उनी पार्टीका साथीभाइसँग गाडी भाडा मागेर झापा फर्किएका थिए ।

जेलमुक्तपछि निरन्तर राजनीतिक जिम्मेवारीमा
११ असार २०४४ मा १४ वर्षे जेल जीवन बिताएर रिहा भएका ओली २ पुसमा धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा मालेको बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा आए ।

२०४६ सालमा तत्कालीन नेकपा माले लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारी पाएका ओली १ जेठ २०४७ मा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष बने ।

२०४९ सालदेखि २०७१ असार मसान्तसम्म नेकपा एमाले स्थायी कमिटी सदस्य रहेका ओली तत्कालीन एमालेका अध्यक्ष हुँदै नवसंयोजित (विगतका एमाले र माओवादी केन्द्र) नेपाल कम्युनिस्ट पार्टीका २ अध्यक्षमध्ये एक अध्यक्ष भए ।

यद्यपि, सर्वोच्च अदालतले नेकपा नामको दल अर्कैका नाममा दर्ता कायम रहेको भन्दै एमाले र माओवादी केन्द्रलाई साविककै आआफ्ना दलमा फर्काइदिएपछि ओली अहिले दोस्रोपटक एमाले अध्यक्ष भएका छन् ।

राजकीय जिम्मेवारी
२०४८ सालमा सम्पन्न आमनिर्वाचनमा झापा-६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ओली । २०५१ सालमा सम्पन्न मध्यावधि निर्वाचनमा पनि झापा–६ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए

१४ मंसिर २०५१ मा मनमोहन अधिकारीको नेतृत्वमा गठित नेपालको पहिलो कम्युनिस्ट सरकारमा गृहमन्त्रीको जिम्मेवारी वहन गरेका थिए ओलीले ।

२०५६ सालमा सम्पन्न आमनिर्वाचनमा झापा-२ र ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका ओली सोही बेला एमाले संसदीय दलको उपनेता चयन भए ।

गणतन्त्र आएसँगै २०६३ जेठमा गठित मन्त्रिपरिषदमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीका रूपमा जिम्मेवारी वहन गरेका ओली २०७० मंसिरमा सम्पन्न संविधानसभा निर्वाचनमा झापा–७ बाट संविधानसभा सदस्यमा निर्वाचित भए ।

विभिन्न समयमा प्रतिनिधिसभा, मन्त्रिपरिषद् र संविधानसभाबाट गठित विभिन्न आयोग र समितिका जिम्मेवारीसमेत वहन गर उनले ।

आन्दोलनमा ओली
२०२७ सालको झापा विद्रोहमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीभित्र हतियारबद्ध संघर्ष गर्ने वा शान्तिपूर्ण संघर्ष गर्ने भन्ने सवालको बहसमा उनले शान्तिपूर्ण संघर्षको माध्यमबाटै परिवर्तन गर्न सकिन्छ भन्ने वैचारिक अडान राखेका थिए । तर, फरक मत राखेरै पनि पार्टीको निर्णय मान्दै उनी सशस्त्र संघर्षमा होमिएका थिए ।

२०३० सालदेखि २०४४ सालको जेल जीवनको लामो अन्तरालमा विभिन्न माध्यमद्वारा पार्टी जीवन संचालन र संघर्षका कार्यक्रमबारे उनले लिखित पत्रका माध्यमद्वारा सुझावहरू पठाउने गरेका थिए ।

२०४६ सालमा सम्पन्न जनआन्दोलनमा संयुक्त वाममोर्चाका तर्फबाट लुम्बिनी अञ्चलको मोर्चा सम्हालेका ओली २०४९ सालमा सम्पन्न नेकपा एमालेको पाँचौँ राष्ट्रिय माहाधिवेशनबाट पारित ‘जनताको बहुदलीय जनवादी कार्यक्रम’ निर्माणका सिलसिलमा तत्कालीन पार्टी महासचिव मदन भण्डारीलाई उक्त कार्यक्रम तयार गर्न सहयोग गरेका थिए ।

२०५९ सालमा भएको नेकपा एमालेको सातौँ राष्ट्रिय महाधिवेशनमा कम्युनिस्ट पार्टीको लोकतान्त्रिकीकरणका सवालमा उनले प्रस्तुत गरेको वैचारिक कार्यक्रमिक प्रस्ताव नेपालका सबै कम्युनिस्ट पार्टीहरूको चासोको विषय बनेको छ ।

एमालेलाई बहुपदीय प्रणालीमा लैजानुपर्छ भनेर उनले २०५९ सालमा भएको सातौँ महाधिवेशनमा प्रस्ताव गरे । कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरणका सवालमा उनले प्रस्तुत गरेको त्यो कार्यक्रम पास हुन सकेन । पछि २०६५ सालमा ओलीको सोही कार्यक्रम पारित भयो र एमालेमा बहुपदीय प्रणाली सुरु भयो ।

एमालेको पाँचौँ महाधिवेशनमा मदन भण्डारीको नेतृत्व र उनको बहुदलीय जनवादलाई साथ दिएका ओली पार्टी विभाजनका बेला नेकपा मालेविरुद्ध कडा रूपमा प्रस्तुत भएका थिए । उनले महाकाली सन्धिको बचाउमा उभिएर भारतप्रति नरम नीति लिएका कारण भारतपरस्त भनेर ओलीको पार्टीभत्रै र बाहिरबाट पनि व्यापक आलोचना भएको थियो । तत्कालीन मालेले त एमालेका गल्तीहरूको सूचीमै ओलीको महाकाली सन्धिको विषय पनि उठाएको थियो ।

बुटवलमा सम्पन्न आठौँ महाधिवेशनमा ओली पार्टी अध्यक्षका उम्मेदवार थिए, तर उनी झलनाथ खनालसँग हारे ।

आठौँ महाधिवेशनमा माधव नेपालसँग मिलेका ओली नवौँ महाधिवेशनमा भने माधव नेपाललाई हराएर अध्यक्ष बने । पार्टीको अध्यक्ष बनेपछि ओलीले माओवादी केन्द्रसँग एकता गरेर सबल र ठूलो कम्युनिस्ट पार्टी नेकपा निर्माण गर्ने काममा सफलता हात पारे ।

तर, नेकपा बनेको केही समयभित्रै दुई अध्यक्ष ओली र प्रचण्डबीचको जुँगाको लडाइँ तीव्र बन्यो । अन्ततः सर्वोच्च अदालतले साविककै पार्टीमा फर्काएपछि सिंगो एमाले १०औं महाधिवेशन हलमा छिर्दा दुइटा पार्टी भइसकेको छ ।

युवा संघका संस्थापक अध्यक्षदेखि प्रधानमन्त्रीसम्म
युवा संघको संस्थापक अध्यक्ष र झापामा चार महिना पार्टी सचिव हुनेबाहेक पार्टीभित्र र बाहिर कहिल्यै पनि पहिलो नेतृत्वमा जान नपाएका ओलीले केही वर्षको बीचमै धेरै कुरा प्राप्त गरे ।

यसबीचमा ओली संसदीय दलको नेता निर्वाचित भए । त्यसलगत्तै पार्टीे अध्यक्षमा निर्वाचित भए भने दोस्रोपटक प्रधानमन्त्री पनि बन्न सफल भए ।
एउटा गरिब र विपन्न नेपाली गाउँले परिवारमा जन्मिएर अनेक हण्डर खाँदै, बालकमै जीविकाका लागि अर्काकामा मजदुरी गर्दै ‘निरंकुशताविरोधी आन्दोलनमा लाग्दा’ डेढ दशक जेल जीवन बिताएका ओली नेपाली राजनीतिको पछिल्लो खण्डका ‘स्वप्नशील’ र ‘हास्यचेत’ भएका ‘रमाइला’ नेता मानिन्छन् ।