नेपाली कांग्रेस प्रदेश २ अधिवेशनको उद्घाटनसत्र भोलि, केही जिल्लामा विवाद कायमै

नेपाली कांग्रेस प्रदेश २ अधिवेशनको उद्घाटनसत्र भोलि, केही जिल्लामा विवाद कायमै



महोत्तरी । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन उद्घाटन सत्र बिहीबार हुँदै छ । जिल्लामा वडा, पालिका र क्षेत्रीय अधिवेशनमा अझै विवाद भएता पनि नेपाली कांग्रेस प्रदेश २ ले अधिवेशन बिहीबारलाई तोकेको हो । अधिवेशनमा सभापतिका लागी राम सरोज यादव, महेन्द्र राय यादव र कृष्ण यादव गरी अहिलेसम्म तीन जना आकांक्षी देखिएका छन् ।

तीन जना आकांक्षी मध्ये रामसरोज यादव र कृष्ण यादव विमेलेन्द्र निधी निकट मानिन्छन् भने महेन्द्र राय यादव भने संस्थापन पक्ष निकट हुन् ।

प्रदेश २ मा विमलेन्द्र निधी प्यानलकै बढी वर्चस्व भएको हुँदा निधी प्यानलले नै जित हासिल गर्न सक्ने कतिपय नेताहरूको आकलन छ । तर, जिल्लाबाट प्रत्येक उम्मेदवारलाई सहानुभूति भोट जाने हुँदा प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ ।

आकांक्षीको संख्या बढी र गुट, उपगुटका कारण पार्टीको वडास्तरमा समेत अधिवेशन हुन सकेको छैन । जिल्ला नेतृत्वले भने अत्यन्त विवाद भएका ठाउँमा अहिले त्यतिकै छोड्ने र केन्द्रीय महाअधिवेशनपछि मात्र टुंग्याउने निर्णयमा पुगेको बताएका छन् ।

महोत्तरीको मनरासिस्वा नगरपालिका-८ मा चरम विवादका कारण अझै अधिवेशन हुन सकेको छैन । आकांक्षीमा व्यापक मतभेदका कारण अधिवेशनको बन्दसत्रमा हात हालाहाल नै भएको नेपाली कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले बताए ।

यही वडाको विवादका कारण क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशन पनि अन्योलमा परेको छ । सकेसम्म विवाद मिलाउने नत्र वडा अधिवेशनलाई थाती राखेर अगाडि बढ्ने नेपाली कांग्रेस महोत्तरीले तयारी गरेको छ ।

`अब वडाका साथीहरूका कारण क्षेत्रीय र केन्द्रीय प्रतिनिधि चयन हुनबाट वञ्चित बनेका छन् त्यस्को जिम्मेवार वडाले लिनुपर्छ,’ नेपाली कांग्रेस महोत्तरीका सभापति महेन्द्र राय यादवले भने ।

क्षेत्र नम्बर ३ मा विवादका कारण वडा र क्षेत्रीय पदाधिकारी चयन गर्न सकस बनिरहेको बेला महाअधिवेशन प्रदेश प्रतिनिधि भने चयन भैसकेका छन् ।

त्यसैगरी जिल्लाको बल्वा नगरपालिकामा पनि विवादका कारण अझै पालिका अधिवेशन सम्पन्न हुन सकेको छैन । बल्वा र मनरासिस्वा नगरपालिका गरी २ वटा पालिका र एउटा वडामा अधिवेशन हुन नसकेको हो ।

यता क्षेत्र नम्बर २ र ४ मा सर्वसम्मत अधिवेशन सम्पन्न भएको छ भने क्षेत्र नम्बर १ मा निर्वाचन नै भएको थियो । क्षेत्र नम्बर ३ मा आज उदघाटनसत्र रहेको नेपाली कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले जानकारी दिए । यदि क्षेत्रीय अधिवेशन सम्पन्न भए मनरासिस्वा-८ को वडा कमिटी भने क्षेत्रीय अधिवेशनमा भाग लिन पाउने छैनन् ।