राप्रपा महाधिवेशन : कमल थापा र राजेन्द्र लिङ्देनले अध्यक्षमा गरे उम्मेदवारी दर्ता

राप्रपा महाधिवेशन : कमल थापा र राजेन्द्र लिङ्देनले अध्यक्षमा गरे उम्मेदवारी दर्ता



काठमाडौं । कमल थापा र राजेन्द्र लिङ्देनले राप्रपा अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । भृकुटीमण्डपमा जारी महाधिवेशनमा शुक्रबार दिउँसो साढे १ बजेसम्म थापा र लिङ्देनको मात्र अध्यक्षमा उम्मेदवारी परेको निर्वाचन अधिकृत राजु बस्नेतले जानकारी दिए ।

चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ । पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र दुर्गादेवी श्रेष्ठको उम्मेदवारी परेको छ ।

एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्तिकुमारी शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राको उम्मेदवारी परेको छ । सदस्यमा एक सय ४१ मध्ये दुई सय ६४ जनाको उम्मेदवारी परेको उनले बताए । अध्यक्षको मतपत्र र पदाधिकारीसहित सदस्यको विद्युतीय मेसिनबाट गर्ने सहमति भएको बस्नेतले बताए । प्रारम्भिक नामावली २ बजे प्रकाशित हुनेछ ।