कांग्रेस प्रदेश अधिवेशन भर्चुअल उद्घाटन गर्दै देउवाले भने, ‘अबको चुनावमा विजयी हुनैपर्छ’

कांग्रेस प्रदेश अधिवेशन भर्चुअल उद्घाटन गर्दै देउवाले भने, ‘अबको चुनावमा विजयी हुनैपर्छ’



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई अबको निर्वाचनमा जीत दिलाउने गरी अघि बढन निर्देशन दिएका छन्। नेपाली कांग्रेस प्रदेश १ को अधिवेशन भर्चुअल उद्घाटन गर्दै प्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘१४औँ महाधिवेशनबाट पार्टीलाई थप सशक्त बनाउन अपिल गर्दछु ।’ उनले अबको तीनै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराउन गरी काम गर्न अपिल गरेका छन् ।

उनले कांग्रेसले सबै ठूला परिवर्तनको नेतृत्व गरेर मुलुकमा समृद्धिको पूर्वाधार खडा गरेको पनि बताए । देउवाले भने– ‘केही महिनाभित्रै स्थानीय तहको निर्वाचन तथा एक वर्षभित्र संघ र प्रदेशको निर्वाचनमा जाँदैछौं । त्यसैले पनि १४औं महाअधिवेशन लगत्तै हाम्रो ध्यान तीनै तहका चुनावतर्फ हुनुपर्छ । पार्टीका आन्तरिक चुनावमा हुने जीत हार एउटा स्वभाविक प्रक्रिया हो, लोकतान्त्रिक अभ्यास हो । त्यसैले तपाईहरुले आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासको रुपमा लिएर आगामी दिनमा पार्टीका सबै नेता तथा कार्यकर्ता एक ढिक्का भएर जनताको विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुनु हुनेछ भन्ने मैले विश्वास लिएको छु । मलाई विश्वास छ, आज हुने प्रदेश अधिवेशनमा तपाईहरुले नेपाली कांग्रेसलाई थप सशक्त र बलियो बनाउने तथा जनताको मन जित्ने गरी रणनीति बनाउने विषयमा पनि छलफल गर्नुहुनेछ ।’

प्रदेश २ बाहेक बाँकी प्रदेशमा नेपाली कांग्रेसको आज र भोलि अधिवेशन छ। यो अधिवेशनले नया नेतृत्व चयन गर्नेछ।