सुदूरपश्चिममा कांग्रेस अधिवेशन : १००३ मत खस्यो, आजै गणना

सुदूरपश्चिममा कांग्रेस अधिवेशन : १००३ मत खस्यो, आजै गणना



धनगढी।धनगढीमा जारी नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनअन्तर्गत मतदान सकिएको छ। १ हजार ३ मत खसेको छ। आजै राति ९ बजेदेखि कैलाली कांग्रेसको पार्टी कार्यालयमा मत गणना हुने प्रचारप्रसार समितिका संयोजक नृप सुनारले बताए।

प्रदेश निर्वाचन समितिका अनुसार अधिवेशनले सभापतिसहित ८ जना पदाधिकारी चयन गर्नेछ। ८ पदाधिकारीमा १९ जनाको उम्मेदवारी परेको छ। यस्तै ४८ प्रदेश सदस्यका लागि १६० जनाले उम्मेदवारी दिएका छन्।

५९ सदस्यीय कार्यसमिति चयन हुने भए पनि तीनजना निर्विरोध चयन भएकाले ५६ पदका लागि मतदान भएको निर्वाचन समितिले जनाएको छ। कैलालीकी पुष्पा भट्ट, डडेल्धुराका तिलकराज जोशी र निर्मला बोगटी विष्ट निर्विरोध चयन भएका हुन्।

मनोनयन दर्तामा भूगोल सदस्यमा बढी उम्मेदवारी नपरेकाले उनीहरू निर्विरोध भएको निर्वाचन अधिकृत वीरबहादुर जेठाराले जानकारी दिए।

प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतर पक्ष प्यानलसहित चुनावी मैदानमा छ। सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ।

यस्तै संस्थापन पक्षबाटै प्रदेश उपसभापतिमा कैलालीका जनक चौधरी र बैतडीका लोकराज अवस्थी, महामन्त्रीमा कैलालीका नरनारायण शाह र अछामका मेघराज खड्का तथा सहमहामन्त्रीमा कञ्चनपुरका चिन्तामणी भट्ट , गोपाल भट्ट र अछामका अम्बिका चलाउनेले उम्मेदवारी दिएका छन्।

यस्तै संस्थापन इतर पक्षबाट मिश्रले सभापतिमा उम्मेदवारी दिएका छन् भने उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट र खिना भण्डारीले उम्मेदवारी दिएका छन्।

यस्तै सहमहामन्त्रीमा लक्ष्मण शाही, हर्क स्वाँर र डम्मरी महराको पनि उम्मेदवारी परेको छ।