चेल्सी पराजित हुँदा सिटीलाई शीर्षस्थान

चेल्सी पराजित हुँदा सिटीलाई शीर्षस्थान



लन्डन । अघिल्लो खेलमा चेल्सी पराजित भएपछि म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति सिटीले घरेलु टोली वाट्फोर्डलाई ३–१ अन्तरले पराजित गर्दै अंक तालिकामा चेल्सीलाई पछि पार्दे शीर्षस्थानमा उक्लिएको हो । सिटीको जितमा बर्नाडो सिल्भाले दुई तथा रहिम स्टर्लिङले एक गोल गरे । घरेलु टोली वाट्फोर्डका जुआन हर्नान्डेजले एक गोल फर्काए ।

यता, अर्काे खेलमा लिभरपुलले उल्भ्सलाई १–० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लियो । चेल्सी पराजित भएको फाइदा लिभरपुलले समेत उठाउँदै दोस्रो स्थान पायो । लिभरपुलको एक मात्रै गोलमा डिभोक ओरिजी नायक रहे । यसअघि चेल्सी घरेलु टोली वेष्ट हाम युनाईटेडसँग ३–२ अन्तरले पराजित हुँदै शीर्षस्थान गुमाएको थियो ।

जितसँगै सिटी १५ खेलबाट ३५ अंकसहित शीर्षस्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ३४ अंक छ । यता, शीर्षस्थान गुमाएको चेल्सी ३३ अंकसहित तेस्रो स्थानमा छ भने वेष्ट हाम २७ अंकसहित चौथो स्थानमा छ ।

रोमाञ्चक खेलमा बायर्नले डर्टमण्डलाई हरायो
बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा चिरपरिचित प्रतिद्वन्दी बोरुसिया डर्टमुन्डलाई पराजित गरेको छ । डर्टमुन्डको घरेलु मैदान सिग्नल इदुना पार्कमा भएको खेलमा बायर्नले ३–२ को जित सहित शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको हो ।

बायर्नको जितमा पोलिस फरवार्ड रोबार्ट लेवाण्डोस्कीले २ तथा किङ्स्ले कोमानले १ गोल गरे । यता, पराजित डर्टमन्डका लागि जुलिय ब्रान्डट र एर्लिङ ब्राउट हाल्याण्डले समान १ गोल गरे ।

यो जितसँगै बायर्नले १४ खेलमा ११ जितसहित ३४ अंक बनाउँदै शीर्षस्थानमा कब्जा जमाएको छ । यता, पराजित डर्टमन्ड भने समान खेलबाट १० जितसहित ३० अंक बनाएर दोस्रो स्थानमा छ ।

बार्सिलोना पराजित
स्पेनिस ला लिगामा गए राति शीर्षस्थानको रियल म्याड्रिड विजयी हुँदा बार्सिलोना भने घरेलु मैदानमा पराजित भएको छ । नोउ क्याम्पमा भएको खेलमा क्याटलान क्लब बार्सिलोना रियल बेटिससँग १–० ले स्तब्ध बन्यो । बेटिसका जुआनमीले खेलको ७९औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

पूर्वखेलाडी जाभी होर्नाण्डेजको प्रशिक्षणमा बार्सिलोनाको लिगमा पहिलो हार हो । अर्काे खेलमा रियल मड्रिडले रियल सोसिडाडविरुद्ध २–० को सहज जित पायो । रियलको जितमा लुका जोभिक र भिनिसिउस जुनियरले समान १ गोल गरे । यस्तै ला लिगाकै अर्काे महारथी क्लब एथ्लेटिको मड्रिड आरसिडी मालोर्कासँग २–१ ले स्तब्ध बन्यो ।

घरेलु टोली एथ्लेटिकोको लागि म्याथिअस कुन्हाले गोल गर्दा विजयी टोलीका फ्रान्को रुस्सो र ताकेफुसा कुवोले समान १ गोल गरे । जितसँगै रियल १६ खेलबाट ३९ अंक जोडेर शीर्षस्थानमा छ । यो हारसँगै बार्सिलोना १५ खेलबाट २३ अंक जोडेर सातौ स्थानमा छ । बार्सिलोना शीर्षस्थानको रियलसँग १६ अंकले पछि परिसकेको छ । यता, अर्काे पराजित टोली एथ्लेटिको १९ अंक जोडेर चौथो स्थानमा छ ।