कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा पौडेल पक्षका पुन विजयी

कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा पौडेल पक्षका पुन विजयी



बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन निर्वाचित भएका छन् । उनी रामचन्द्र पौडेल पक्षका हुन् । बिहान सम्पन्न मतगणनाको अन्तिम परीणाम अनुसार पुनले सभापतिका अर्का प्रत्यासी संस्थापन समूहका भरतकुमार शाहलाई ८५ मतले हराएका हुन् । सभापतिमा निर्वाचित पुनले ८५२ मत पाउँदा शाहले ७६७ मतमै चित्त बुझाए ।

पदाधिकारीमा पनि पुन प्यानलकै वर्चश्व छ । उपसभापतिमा भुवनप्रसाद श्रेष्ठ ८४७ र राजु खनाल ७९२ मत ल्याइ विजयी भएका छन् । खनाल भने संस्थापन निकट मानिन्छन् । अष्टभुजा पाठकले ७७२ र सुधाकर पाण्डेले ६६१ मत ल्याएर उपसभापतिमा पराजित भए ।

महामन्त्रीमा विक्रम खनालले ८४४ र सुरेन्द्रराज आचार्यले ८३९ मत ल्याइ विजयी भएको निर्वाचन समितिले जनाएको छ । दुवैजना पौडेल निकट हुन् । सहमहामन्त्रीमा विष्णु खनाल ८५९, खगराज पाण्डे ७७६ र निमा गिरी ८३० मत ल्याइ निर्वाचित भएका छन् । ती सबै पौडेल समूहकै हुन् ।

शनिबार राति १२ बजेदेखि सुरु भएको मतगणना सोमबार बिहान मात्र सकिएको हो । प्रदेश अधिवेशनमा कुल १ हजार ६३१ मत खसेको थियो । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये नौ जिल्ला सभापतिमा पनि पौडेल पक्षले सभापति जितेको छ ।