कांग्रेस महाधिवेशन : ओखलढुंगाका दुई नेता केन्द्रीय सदस्यमा लड्ने

कांग्रेस महाधिवेशन : ओखलढुंगाका दुई नेता केन्द्रीय सदस्यमा लड्ने



ओखलढुंगा । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा ओखलढुंगाका दुई युवा नेताले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । जिल्ला सभापति प्रदीपकुमार सुनुवार र संविधान सभाका सदस्य रामहरि खतिवडाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । उनीहरू दुवै जना संस्थापन पक्षीय नेता हुन् ।

सभापति शेरबहादुर देउवा निकट प्रदीपकुमार सुनुवार ओखलढुंगामा दुई कार्यकाल सभापति भई जिल्ला सदरमुकाममा पार्टी कार्यालय भवन निर्माण गरेका तथा आफ्नो समूहका नेताहरूलाई जिल्ला अधिवेशनमा पदाधिकारी निर्वाचित गराउन सफल व्यक्ति हुन् ।

उनी अल्पसंख्यक कोटामा केन्द्रीय सदस्य चुनाव लड्ने भएका छन् । जिल्लामा आफ्नो गुट स्थापित गर्न १० वर्ष योगदान गरेका नेता सुनुवारलाई देउवाले आफ्नो समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार बनाउने निश्चित रहेको नेताहरूको भनाइ छ ।

त्यस्तै पूर्व सांसद तथा युवा नेता रामहरि खतिवडाले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । सञ्चार माध्यममार्फत सहमहामन्त्री दाबी गर्दै आएका उनी युवा पुस्तामा चर्चित छन् । उनी पनि संस्थापन पक्षका नेता हुन् । फरक गुटका नेताहरूसँग पनि उनको उत्तिकै नजिकको सम्बन्ध रहेको कार्यकर्ताहरू बताउँछन्।

सहमामन्त्रीमा सिनियर नेताहरूलाई व्यवस्थापन गर्न चुनौती देखिएपछि उनी केन्द्रीय सदस्य लड्ने तयारीमा छन् । उनले भने, ‘सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेको थिएँ । साथीभाइ, शुभेच्छुक, टिमभित्रका नेताहरूको सुझाव र परामर्शमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’ १३औँ महाधिवेशनमा खतिवडा देउवा टिममा नपर्दा थोरै मतले पराजित भएका थिए ।