कांग्रेस महाधिवेशनः तयारी अन्तिम चरणमा

कांग्रेस महाधिवेशनः तयारी अन्तिम चरणमा



काठमाडौं । मंसिर २४ अर्थात् पर्सिदेखि सुरु हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनको लागि आवास, खाद्यान्नको व्यवस्थापन र प्रचारप्रसारका काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।

कोरोना भाइरसको जोखिम कायमै रहेको बेला नयाँ भेरियन्टले बढाउन सक्ने समस्यालाई मध्यनजर गरी महाधिवेशन स्थलमा स्यानिटाइजर, मास्क अनिवार्य गरिएको छ भने अन्य प्रकारका रोगका लागि पनि महाधिवेशनस्थलमै हेल्थडेस्क स्थापना गरिने पनि प्रवक्ता शर्माले जानकारी दिए ।

महाधिवेशनकै लागि निर्वाचन समितिले पनि पहिलो चरणको काम सकिएको जनाएको छ । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले एक सय ६० वटा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भइसकेको जानकारी दिए ।

उनले महाधिवेशनअघि प्रदेश २ को प्रदेश अधिवेशन नहुने बताए । प्रदेश २ को प्रदेश अधिवेशन महाधिवेशनपछि मात्रै गर्ने गरि कार्यतालिका सार्वजनिक गरिने उनको भनाइ छ । तर जिल्ला अधिवेशनका लागि भने कार्यतालिका सार्वजनिक भइसकेको छ । घिमिरेले आजसम्ममा सर्लाही र महोत्तरीको महाधिवेशन प्रतिनिधिको नामावली आइसक्ने बताएका छन् ।